——✍️ शिवराम झा” गुड्डु”
आज हामी सूचना प्रविधिको युगमा बाँचिरहेका छौं। इन्टरनेट, मोबाइल, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोटिक्स, बायोटेक्नोलोजी जस्ता विषयहरू विद्यार्थीहरूले सानो उमेरदेखि नै सिकिरहेका छन्। स्कूल, कलेज र विश्वविद्यालयहरूमा डिग्री, परीक्षा र प्रमाणपत्रको आधारमा विद्यार्थीको मूल्याङ्कन हुने गरेको छ। तर प्रश्न उठ्छ: के यति मात्र शिक्षाको उद्देश्य हो? के जीवन चलाउनका लागि केवल ज्ञान, सूचना र सीप नै पर्याप्त छन्?
सत्य के हो भने शिक्षा केवल किताबी ज्ञान होइन, संस्कारको स्रोत पनि हुनुपर्छ। आजको शिक्षाले ज्ञान त दिन्छ तर व्यवहार, नैतिकता र अनुशासन दिन सकेको छैन। त्यसैले अहिलेको आवश्यकता हो—संस्कारसहितको शिक्षा, जसले व्यक्तिको मन, मस्तिष्क र आत्मालाई समेटेर एक आदर्श नागरिक बनाउने शक्ति राख्दछ।
शिक्षा भनेको मानिसलाई पढ्न, लेख्न, सोच्न र विश्लेषण गर्न सक्ने बनाउने प्रक्रिया हो। तर त्यो शिक्षा तब मात्र सार्थक हुन्छ जब त्यसमा संस्कार मिसिएको हुन्छ।
संस्कार भन्नाले व्यक्तिको सोच, बोली, व्यवहार, दृष्टिकोण र जीवनशैलीमा देखिने मानव मूल्य हो। जस्तो कि:सच्चाइको पक्षमा उभिनु,इमानदारीपूर्वक काम गर्नु,बाआमा र शिक्षकको सम्मान गर्नु,समाजप्रति उत्तरदायी हुनु,सहनशील र नम्र व्यवहार गर्नु।
संस्कारविहीन शिक्षाले व्यक्तिलाई केवल डिग्रीधारी बनाउँछ, तर जीवन बुझ्ने क्षमता दिन सक्दैन।
संस्कारविहीन शिक्षाको परिणाम : आज हामी समाजमा देखिरहेका छौं — डाक्टर, इञ्जिनियर, प्रशासक, शिक्षक जस्ता शिक्षित भनिने व्यक्तिहरू नै भ्रष्टाचारमा लिप्त छन्।
विद्यालयमा विद्यार्थीहरू शिक्षकप्रति अभद्र भाषा प्रयोग गर्छन्।
क्याम्पसहरूमा राजनीति र अश्लीलता हावी छन्।
सरकारी सेवामा लाखौं घूस तिरेर जागिर पाउने र त्यसलाई व्यापार बनाउने प्रवृत्ति बढेको छ।
किन? किनभने हामीले शिक्षामा संस्कारको आत्मा हरायौं।
ज्ञान बढ्दैछ, तर सहिष्णुता घट्दैछ।
डिग्री छ, तर आत्मीयता छैन।
टेक्नोलोजीको भरमा विश्व हेर्ने तर मनभित्र संवेदना शून्य हुने पुस्ता बनिरहेका छन्।
यस्तो शिक्षाले केवल ‘कुशल मजदुर’ बनाउँछ, ‘आदर्श नागरिक’ होइन।
परिवार नै पहिलो पाठशाला हो। बालबालिकाले आमाबुबाको व्यवहार, बोली र निर्णयबाट नै संस्कार सिक्छ।बाआमाले इमानदारी देखाए बालबालिका पनि इमानदार बन्छ।घरमा सम्मान, प्रेम र संयमता देखियो भने बच्चाको मानसपटलमा त्यो गहिरो असर पार्छ।
शिक्षक केवल विषयविज्ञ होइनन्, उनीहरू आदर्श पात्र हुन्। शिक्षकले आचरण र व्यवहारमा जुन संस्कार देखाउँछन्, त्यही बालबालिकाले अनुसरण गर्छन्।
विद्यालयमा समयपालन, अनुशासन, सादा जीवन, सेवा भावना, सामूहिकता आदिको अभ्यास गराइनुपर्छ।
समाजको संस्कृति, परम्परा, पर्व र सार्वजनिक व्यवहारले बालबालिकामा जीवनप्रति दृष्टिकोण निर्माण गर्छ।
– चाडपर्वको अवसरमा सहयोग र सहकार्यको भावना
– वृद्धप्रति सम्मान र सहयोग
– सरसफाइ अभियान, रक्तदान, समाजसेवा जस्ता कार्य संस्कारको अभ्यासका रूप हुन्।
संस्कारसहितको शिक्षाको विशेषता
संस्कारयुक्त शिक्षाले निम्न कुराहरूमा सुधार ल्याउँछ:जीवनदृष्टिकोण सकारात्मक बनाउँछ,अनुशासन र आत्मनियन्त्रणको विकास गर्छ,समाजप्रतिको उत्तरदायित्व बढाउँछ,सहानुभूति, करुणा र सहिष्णुता उत्पन्न गर्छ,राष्ट्र र धर्मप्रति समर्पण भाव जागृत गर्छ।
विद्यार्थीहरू केवल किताबी ज्ञानमा सीमित हुँदैनन्, उनीहरू व्यवहारमा पनि उत्कृष्टता प्रदर्शन गर्छन्।
संस्कारयुक्त शिक्षा कसरी लागू गर्ने?
१. पाठ्यक्रममा नैतिक शिक्षा समावेश
विद्यालयको पाठ्यक्रममा ‘नैतिक शिक्षा’, ‘जीवन उपयोगी शिक्षा’ र ‘नागरिकता शिक्षा’ अनिवार्य गरिनुपर्छ। विद्यार्थीहरूले राम, सीता, बुद्ध, अशोक, स्वामी विवेकानन्द, गान्धी, अब्दुल कलामजस्ता पात्रहरूको जीवनबाट सिक्ने अवसर पाउनुपर्छ।
२. संस्कारमूलक गतिविधिहरूको आयोजना
प्रत्येक विद्यालयमा बिहानको प्रार्थना, श्लोक वाचन, ध्यान (Meditation) जस्ता कार्यक्रम हुनुपर्छ।
विद्यार्थीहरूलाई वृक्षरोपण, वृद्धाश्रम भ्रमण, सरसफाइ अभियान, रक्तदान शिविरमा सहभागी गराइनुपर्छ।
‘सात दिने चरित्र निर्माण तालिम’ जस्ता अभ्यासका कार्यक्रम अनिवार्य गरिनुपर्छ।
३. शिक्षक र अभिभावकको सहकार्य
शिक्षकले सिकाएको संस्कार घरमा अभ्यास नहुनु भनेको बाँझो खेतमा बीउ छर्नु जस्तै हो। त्यसैले शिक्षक र अभिभावकबीच नियमित संवाद, भेटघाट र सहकार्य हुनुपर्छ।
४. व्यवहारमा आधारित मूल्याङ्कन
विद्यालयमा केवल लेखिएको उत्तरपुस्तिकालाई आधार मानेर अंक दिने होइन, विद्यार्थीको व्यवहार, अनुशासन, समयपालन, समूहकार्यमा सहभागिता आदिलाई समेत मूल्याङ्कन गर्नुपर्छ।
जनकपुरधामजस्तो ऐतिहासिक शहरमा संस्कारयुक्त शिक्षाको औचित्य
जनकपुरधाम केवल धार्मिक स्थल होइन, यो संस्कारको राजधानी हो।
राजर्षि जनक, देवी सीता, याज्ञवल्क्य ऋषिजस्ता चरित्रहरूको भूमिमा आजपनि हजारौं बालबालिका शिक्षामा अघि बढिरहेका छन्। तर, यदि तिनीहरू संस्कारबिना शिक्षित भए भने, जनकपुरको गौरव हराउँदै जान सक्छ।
यहाँका स्थानीय पालिका र विद्यालयहरूले पाठ्यक्रममा मिथिला संस्कृतिका आदर्शहरू समावेश गर्न सक्छन्।
– सीताको संयमता,
– जनकको न्यायप्रियता,
– याज्ञवल्क्यको विवेक,
यी सबैलाई अभ्यासमा उतारेर जनकपुरलाई संस्कारयुक्त शिक्षा प्रवर्द्धन गर्ने केन्द्र बनाउन सकिन्छ।
आजको युगमा दक्षता मात्र पर्याप्त छैन, दक्ष+संवेदनशील नागरिक आवश्यक छन्। त्यसका लागि संस्कारसहितको शिक्षा अपरिहार्य छ। केवल किताबी ज्ञानले होइन, नैतिक बल र आत्मिक चेतनाले भरिएको शिक्षा प्रणालीले मात्र समृद्ध, शान्त र सुसंस्कृत समाज निर्माण गर्न सकिन्छ।
हामी सबैको जिम्मेवारी हो—
शिक्षा यस्तो बनाऔं
जुन केवल जीवनयापन गर्न नसिकाओस्
बरु जीवन बुझ्न सिकाओस्,
जीवन बदल्न सक्ने हिम्मत देओस्।




















