दाइजो होइन, समानता चाहियो: उपसभामुख ठाकुरको स्पष्ट सन्देश

३ बैशाख , काठमाडौ । उपसभामुख रुवि कुमारी ठाकुरले विवाह निमन्त्रणापत्रहरूमा “दहेज मुक्त विवाह” भन्ने स्पष्ट उल्लेख नदेखिएकोप्रति चिन्ता व्यक्त गर्दै दाइजो प्रथाविरुद्ध सशक्त आवाज उठाएकी छन्। उनले समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गरेको बताएकी हुन्।
ठाकुरले दाइजो लिनु वा दिनु मात्र नभई, दाइजोमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास भएको स्पष्ट पारेकी छन्। उनका अनुसार यस किसिमको प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउँछ।
उनले समाज परिवर्तनका लागि व्यक्तिगत स्तरबाटै सुरुवात आवश्यक रहेको उल्लेख गर्दै सानो पहलले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुने धारणा राखिन्। सोही सन्दर्भमा, दाइजो लेनदेन भएको विवाहमा आफू सहभागी हुन असमर्थ रहने जानकारी समेत उनले गराएकी छन्।
उपसभामुख ठाकुरले विवाह निमन्त्रणापत्रमै “दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने सन्देश स्पष्ट रूपमा समावेश गर्न आग्रह गर्दै समानता र सभ्यतामा आधारित विवाह संस्कृतिलाई प्रोत्साहन गर्न सबैलाई आह्वान गरेकी छन्।
उनले सबैलाई मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याउँदै यस अभियानमा सक्रिय सहभागिताको अपेक्षा व्यक्त गरेकी छन्।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more