४ बैशाख , जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाले क्षेत्रभित्र सञ्चालनमा रहेका सबै संस्थागत विद्यालयहरूलाई आवश्यक विवरण सहितका कागजात पेश गर्न सूचना जारी गरेको छ।
नगर शिक्षा समितिको मिति २०८२ चैत ३० गतेको निर्णयअनुसार उपमहानगरपालिकाले सूचना प्रकाशन गरेको मितिले ७ दिनभित्र तोकिएका विवरणहरू पेश गर्न अनुरोध गरेको हो। तोकिएको समयभित्र विवरण नबुझाए आवश्यक कारबाही हुन सक्ने संकेत गरिएको छ।
सूचनाअनुसार विद्यालयहरूले संस्थागत विद्यालय मापदण्ड निर्देशिका–२०८१ तथा विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि–२०८१ बमोजिम आफ्नो विद्यालयको वर्गीकरण स्पष्ट गर्नुपर्नेछ। साथै सोही आधारमा शैक्षिक सत्र २०८३ मा लागू गरिने शुल्क विवरण समेत पेश गर्नुपर्नेछ।
त्यसैगरी, शैक्षिक सत्र २०८३ मा कक्षा १ देखि १२ सम्म अध्यापन गराइने पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सिकाइ सामग्रीहरूको सूची पनि पेश गर्नुपर्नेछ। उक्त सूचीमा सम्बन्धित प्रकाशनको नाम र ठेगाना समेत उल्लेख गर्नुपर्ने जनाइएको छ।
उपमहानगरपालिकाले शैक्षिक क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन यस्तो विवरण संकलन आवश्यक रहेको जनाएको छ।


















