भन्सार नीतिमा सुधारको माग गर्दै खुला सीमा सम्वाद समूहको ध्यानाकर्षण

५ बैशाख , जनकपुरधाम।  नेपाल–भारत खुला सीमा सम्वाद समूहले सरकारको पछिल्लो भन्सार नीतिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सीमावर्ती क्षेत्रका बासिन्दाको जनजीवन सहज बनाउन तत्काल नीतिगत सुधार गर्न आग्रह गरेको छ।
समूहका प्रवक्ता प्रमोद कुमार साहद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाल–भारतबीचको सदियौँदेखिको सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई दृष्टिगत गर्दै वर्तमान भन्सार व्यवस्थाले जनस्तरमा अनावश्यक तनाव सिर्जना गरेको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार सीमा नाकाबाट १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने हालको व्यवस्थाले सीमावर्ती क्षेत्रका न्यून आय भएका नागरिकहरूलाई प्रत्यक्ष असर पारेको छ। उक्त व्यवस्था व्यवहारिक नभएको ठहर गर्दै घरायसी प्रयोजनका सामग्रीमा शून्य भन्सार लागू गर्न समूहले माग गरेको छ।
त्यस्तै, नेपाल र भारतका सीमावर्ती शहर तथा प्रमुख धार्मिक स्थलमा दर्शन र भ्रमणका लागि आउने श्रद्धालुहरूलाई ४८ घण्टासम्म भन्सार छुटको सुविधा उपलब्ध गराउनुपर्ने प्रस्ताव पनि समूहले अघि सारेको छ। यसले धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै जनस्तरको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।
समूहले सामान्य उपभोक्तालाई अनावश्यक दुःख दिनु उचित नभएको उल्लेख गर्दै व्यावसायिक रूपमा हुने तस्करीलाई कडाइका साथ नियन्त्रण गर्न सरकारसँग माग गरेको छ। वास्तविक उपभोक्ता र तस्करबीच स्पष्ट भिन्नता छुट्याएर संयमित प्रशासन लागू गर्नुपर्नेमा जोड दिइएको छ।
यसैबीच, सीमा क्षेत्रमै सस्तो र व्यवस्थित बजारको व्यवस्था गर्नुपर्ने तथा आम जनताको दैनिक भान्सासँग सम्बन्धित अत्यावश्यक खाद्यान्न सामग्रीमा पूर्ण भन्सार छुट प्रदान गर्नुपर्ने माग पनि गरिएको छ।
सम्वाद समूहले सीमा क्षेत्रको संवेदनशीलता र स्थानीय नागरिकको जीवनस्तरलाई ध्यानमा राख्दै सरकारले अविलम्ब मागहरू सम्बोधन नगरे थप दबाबमूलक कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more

    सुनसरी घटनाले पूर्वराजा ज्ञानेन्द्र चिन्तित, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि गरे अपिल

    Read more