जनकपुरधाममा अनुमति बिना चल्ने विद्यालय बन्द गर्ने चेतावनी, मनपरी शुल्कमा कडाइ

५ बैशाख , जनकपुरधाम।  जनकपुरधाम उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा देखिएको अराजकता नियन्त्रण गर्न कडाइ गर्ने संकेत दिएको छ। उपमहानगरले विशेषगरी अनुमति बिना सञ्चालन भइरहेका तथा तोकिएको मापदण्डभन्दा बाहिर कक्षा सञ्चालन गर्ने निजी विद्यालयहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो।
शनिबार वडा नम्बर–१६ कपिलेश्वरस्थित श्री आधारभूत विद्यालयमा नवनिर्मित चारकोठे पक्की भवन उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख मनोजकुमार साहले निजी विद्यालयहरूको मनपरी शुल्क निर्धारण नियन्त्रण गरिने स्पष्ट पारे। उनले अभिभावकमाथि अनावश्यक आर्थिक भार पर्ने गरी शुल्क असुल्ने प्रवृत्ति अब सह्य नहुने बताए।
मेयर साहका अनुसार उपमहानगरले कानुनी व्यवस्था अनुरूप शुल्क निर्धारण प्रक्रिया कार्यान्वयनमा ल्याउनेछ, जसबाट अभिभावकलाई राहत मिल्ने विश्वास गरिएको छ। साथै, अनुमति नै नलिई सञ्चालन भइरहेका विद्यालय तथा अनुमति भन्दा माथि कक्षा सञ्चालन गर्ने संस्थालाई तत्काल कानुनी दायरामा ल्याइने उनले चेतावनी दिए।
उनले शिक्षा क्षेत्रमा अनुशासन र पारदर्शिता आवश्यक रहेको उल्लेख गर्दै नियम विपरीत कार्य गर्ने जोकोहीलाई कारबाही गरिने बताए।
कार्यक्रममा उनले सामुदायिक विद्यालयहरूको स्तर उकास्न उपमहानगर प्रतिबद्ध रहेको पनि बताए। भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षा, दक्ष शिक्षक र आधुनिक शिक्षण पद्धतिमा जोड दिइने उनको भनाइ थियो।
“सामुदायिक विद्यालयलाई सक्षम र प्रतिस्पर्धी बनाउनु हाम्रो प्राथमिकता हो,” उनले भने, “विद्यार्थी र अभिभावकको विश्वास जित्ने वातावरण निर्माण गरिनेछ।”
उद्घाटन गरिएको नयाँ भवनले विद्यालयको भौतिक पूर्वाधार सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। उपमहानगरले आगामी दिनमा पनि शिक्षा क्षेत्रमा सुधारका थप कार्यक्रम अघि बढाउने जनाएको छ।
कार्यक्रममा उपप्रमुख किशोरी साह, वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने

    Read more

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more