होर्मुज जलडमरूमध्यमा भारतीय तेल ट्यांकरमाथि इरानी आक्रमण, भारतको कडा चेतावनी

६ बैशाख ,नयाँ दिल्ली/तेहरान ।— होर्मुज जलडमरूमध्य क्षेत्रमा दुई भारतीय कच्चा तेल बोकेका ट्यांकरमाथि इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) सम्बद्ध इरानी नौसेनाले गोली प्रहार गरेपछि भारतले इरानलाई कडा चेतावनी दिएको छ।
भारतीय अधिकारीहरूका अनुसार घटनामा मानवीय क्षति नभए पनि एक जहाजको क्याबिनमा क्षति पुगेको छ। नयाँ दिल्लीले यस्तो गतिविधि दोहोरिए गम्भीर परिणाम निम्तिन सक्ने स्पष्ट सन्देश तेहरानलाई पठाएको जनाएको छ।
आक्रमणमा परेका ‘जग अर्नभ’ र ‘सानमार हेराल्ड’ नामक ट्यांकरहरू ओमानको उत्तरी समुद्री क्षेत्रमा इरानी पक्षले रोकेपछि होर्मुज प्रवेश गर्न नपाई फर्किन बाध्य भएका थिए। समुद्री ट्र्याकिङ स्रोतका अनुसार ‘जग अर्नभ’ साउदी अरबबाट भारततर्फ आउँदै थियो भने ‘सानमार हेराल्ड’ इराकबाट कच्चा तेल बोकेर भारततर्फ गइरहेको थियो।
घटनापछि भारतको परराष्ट्र मन्त्रालयले कडा विरोध जनाउँदै इरानी राजदूतलाई बोलाएर असन्तुष्टि व्यक्त गरेको छ। साथै, भारतले स्वतन्त्र र अवरोधरहित समुद्री आवागमनको पक्षमा रहेको दोहोर्‍याउँदै यस्तो अवरोध अस्वीकार्य हुने स्पष्ट पारेको छ।
स्रोतका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स ले अमेरिका र इजरायलसँगको बढ्दो तनावका बीच होर्मुज हुँदै जाने जहाजहरूबाट ‘टोल’ असुल्ने योजना बनाइरहेको छ। तर भारतले कुनै पनि हालतमा यस्तो शुल्क नतिर्ने अडान लिएको छ।
होर्मुज जलडमरूमध्य विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिन्छ, जहाँबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल ओसारपसार हुन्छ। पछिल्लो घटनाले क्षेत्रीय तनाव थप चर्किने संकेत दिएको विश्लेषकहरूको भनाइ छ।

  • सम्बन्धित समाचारहरु

    धनुषाको मन्दिर परिसरमा शव फेला, घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह

    Read more

    देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने

    Read more