विदेश अध्ययनका लागि एनओसी अब पूर्ण रूपमा अनलाइन, घरमै बसेरै प्रमाणपत्र प्राप्त गर्न सकिने

६ बैशाख ,काठमाडौं।  — विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) प्राप्त गर्ने प्रक्रिया अब सहज बनेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सानोठिमीस्थित एनओसी शाखाले सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने व्यवस्था लागू गरेको हो।
नयाँ प्रणालीसँगै विद्यार्थीहरूले अब घरमै बसेर एनओसीका लागि आवेदन दिन, आवश्यक प्रक्रिया पूरा गर्न र अन्तिम प्रमाणपत्र डाउनलोड तथा प्रिन्ट गर्न सक्नेछन्। यसका लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयसँग प्राविधिक अन्तरआवद्धता (एपीआई) समेत जोडिएको मन्त्रालयले जनाएको छ।
यसअघि एनओसीका लागि आवेदन दिएपछि विवरण प्रमाणीकरणका लागि विद्यार्थीहरूलाई भौतिक रूपमा कार्यालय धाउनुपर्ने बाध्यता थियो। तर अब नागरिकता, शैक्षिक प्रमाणपत्र लगायतका विवरण सम्बन्धित निकायसँग डिजिटल रूपमा मिलान हुने भएकाले कार्यालय पुग्नुपर्ने झन्झट हटेको छ।
त्यसैगरी, एनओसी शुल्क पनि अनलाइनमार्फत नै तिर्न सकिने व्यवस्था गरिएको छ। स्वीकृत प्रमाणपत्रमा क्यूआर कोड रहने भएकाले सजिलै स्क्यान गरी प्रमाणीकरण गर्न सकिने जनाइएको छ।
मन्त्रालयका अनुसार नयाँ प्रणाली लागू भएसँगै विशेषगरी स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहमा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। यसले प्रक्रिया छिटो, पारदर्शी र झन्झटरहित बनाउने देखिन्छ।

  • सम्बन्धित समाचारहरु

    धनुषाको मन्दिर परिसरमा शव फेला, घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह

    Read more

    देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने

    Read more