७ बैशाख , काठमाडौ । — गृहमन्त्री सुधन गुरुङले आफूविरुद्ध पछिल्ला दिनमा उठेका विभिन्न आरोपहरूको सार्वजनिक रूपमा खण्डन गरेका छन्। सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै उनले ती विषयहरूलाई “हल्ला र भ्रम”को संज्ञा दिँदै तथ्यका आधारमा मूल्यांकन गर्न आग्रह गरेका हुन्।
२५ लाख रुपैयाँ बराबरको सेयर लुकाएको आरोपबारे स्पष्ट पार्दै गुरुङले आफ्नो सम्पत्ति विवरणमा २ करोड रुपैयाँभन्दा बढी लगानी खुला रूपमा उल्लेख गरिएको बताएका छन्। उनका अनुसार ‘स्टार माइक्रो इन्स्योरेन्स’ लगायतका लगानी एउटै समूहभित्र समेटिएकाले यो “लुकाउने नभई वर्गीकरणको विषय” मात्र हो। उनले सबै कारोबार बैंकिङ च्यानलमार्फत भएको र लगानीको स्रोत कर्जा रहेको उल्लेख गर्दै त्यससम्बन्धी कागजात रेकर्डमा रहेको दाबी गरेका छन्।
विवादित व्यक्तिसँग साझेदारी गरेको आरोपबारे उनले एउटै कम्पनीमा धेरै सेयरधनी हुने भएकाले सेयर किन्नु सबैसँग प्रत्यक्ष साझेदारी गर्नु नहुने तर्क गरे। “सेयरहोल्डर हुनु अपराध होइन,” उनले भने।
‘कन्फ्लिक्ट अफ इन्टेरेस्ट’ सम्बन्धी आरोपबारे पनि उनले प्रतिक्रिया दिएका छन्। उक्त विषयको छानबिन गृह मन्त्रालयले नभई अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धीकरण विभागले गरिरहेको उल्लेख गर्दै आफूले कुनै हस्तक्षेप नगरेको दाबी गरेका छन्।
गुरुङले लगानीका क्रममा भविष्यका सबै अवस्था पूर्वानुमान गर्न नसकिने उल्लेख गर्दै पछि भएका घटनालाई अघि गरिएको निर्णयसँग जोड्नु उचित नहुने बताएका छन्। कानुनी रूपमा संवेदनशील विषय भएकाले तत्काल प्रतिक्रिया नदिनु स्वाभाविक रहेको उनको भनाइ छ।
यसरी उनले आरोप र सत्य फरक हुने उल्लेख गर्दै सबै विषय प्रमाणका आधारमा टुंगो लगाइनुपर्ने बताएका छन्। साथै, पार्टीले गर्ने निर्णय स्वीकार गर्ने र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
















