वेनेजुएलामा शक्तिशाली भूकम्प, सुनामी चेतावनी जारी

११ अषाढ, काठमाडौ /काराकास । दक्षिण अमेरिकी देश वेनेजुएला मा केही मिनेटको अन्तरालमा दुई शक्तिशाली भूकम्पका झट्का महसुस गरिएका छन्। भूकम्पपछि सम्बन्धित निकायहरूले सुनामीको चेतावनी जारी गरेका छन्।

अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (USGS) का अनुसार भूकम्पको तीव्रता क्रमशः ७.१ र ७.५ मापन गरिएको छ। भूकम्पको केन्द्र क्यारिबियन तटीय क्षेत्रस्थित मोरोन बस्तीबाट करिब २८ किलोमिटर पश्चिममा रहेको र यसको गहिराइ १३ किलोमिटर रहेको जनाइएको छ।

राजधानी काराकास सहित विभिन्न क्षेत्रमा भूकम्पका शक्तिशाली झट्का महसुस गरिएको थियो। भूकम्पका कारण धेरै भवनहरू हल्लिएको देखिएको छ भने त्रसित नागरिकहरू घर तथा कार्यालयबाट बाहिर निस्केर खुला स्थानतर्फ भागेका थिए।

प्रारम्भिक विवरणअनुसार केही भवन तथा संरचनामा क्षति पुगेको छ। यद्यपि, मानवीय क्षति सम्बन्धी विस्तृत विवरण तत्काल सार्वजनिक गरिएको छैन।

अधिकारीहरूले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेका छन्। उद्धार तथा मूल्यांकन टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएको जनाइएको छ।

भूकम्पपछिको अवस्थाबारे थप विवरण आउने क्रम जारी रहेको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन्।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र कडा कारबाहीको माग गर्दै हिन्दु सम्राट नेपालको मागपत्र

    Read more

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more