१२ कात्तिक , जनकपुरधाम। राजर्षिजनक विश्वविद्यालयले आफ्नो ९औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ। विश्वविद्यालयले प्रशासनिक, प्राज्ञिक र भौतिक पूर्वाधारमा सुधार गर्दै सम्पूर्ण प्रणालीलाई एकीकृत डिजिटल प्रविधिमा लैजाने घोषणा गरेको छ।
स्थापनाको नौ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा विश्वविद्यालयले आगामी दिनमा कार्यान्वयन गर्ने सुधारका योजना तथा प्राथमिकताहरू सार्वजनिक गरेको हो।
कार्यक्रमको सुरुवातमा विश्वविद्यालयका रजिस्ट्रार डा. जीवन काफ्लेले राष्ट्रिय झण्डा र विश्वविद्यालयको झण्डा फहराएका थिए। त्यस अवसरमा उपकुलपति र रजिस्ट्रारद्वारा जारी संयुक्त शुभकामना सन्देशमा विश्वविद्यालयलाई थप गतिशील, व्यवस्थित र गुणस्तरीय बनाउने एजेन्डालाई प्राथमिकता दिइएको थियो।
विश्वविद्यालयले आफ्ना सम्पूर्ण शैक्षिक, प्रशासनिक, परीक्षा तथा लेखा प्रणालीलाई सिकाइ व्यवस्थापन प्रणाली (एलएमएस) र एकीकृत डिजिटल नेटवर्कमार्फत केन्द्रीकृत प्रणालीमा लैजाने घोषणा गरेको छ। यसबाट विद्यार्थीले अनलाइन माध्यमबाटै विभिन्न सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, विश्वविद्यालयअन्तर्गतको स्कुल अफ हेल्थ साइन्सलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, रोकिएका भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिने तथा प्रयोगशालालाई आधुनिक र प्रविधिमैत्री बनाउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
मधेश प्रदेशको आवश्यकता र बजारको मागअनुसार नैतिकवान्, प्राविधिक दक्षता भएका तथा नवप्रवर्तनमा सक्षम जनशक्ति उत्पादन गर्न पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्ने विश्वविद्यालयको योजना छ। साथै, प्रशासनिक ढिलासुस्ती र बेथिति अन्त्य गर्दै सेवा प्रवाहलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
कार्यक्रममा विश्वविद्यालयका डिन, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
विश्वविद्यालयले अघि सारेका डिजिटल रूपान्तरण, शैक्षिक गुणस्तर सुधार र पूर्वाधार विकासका योजनाले आगामी दिनमा संस्थाको सेवा प्रवाह तथा प्राज्ञिक वातावरणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


















