१० कात्तिक , काठमाडौ । बंगालको खाडीमा विकसित ‘अर्नब’ नामक शक्तिशाली चक्रवातको प्रभावले बिहीबारदेखि नेपालका अधिकांश भूभागमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै चक्रवातको प्रभाव नेपालका विभिन्न प्रदेशमा पर्ने जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा यसको प्रभाव बढी देखिनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षा हुन सक्नेछ।
विशेषगरी कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोशी, मधेस, बागमती तथा गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चक्रवातको प्रभावका कारण उच्च हिमाली क्षेत्रमा भारी हिमपातसमेत हुन सक्ने भएकाले मौसममा हुने परिवर्तनप्रति सतर्क रहन आवश्यक देखिएको छ। वर्षा, चट्याङ, हावाहुरी तथा हिमपातका कारण जनजीवन, यातायात र हवाई सेवामा असर पर्न सक्ने भएकाले सम्बन्धित निकायले जारी गर्ने मौसमसम्बन्धी सूचनामा ध्यान दिनु आवश्यक छ।



















