९ कात्तिक, जनकपुरधाम। धनुषामा लागुऔषध गाँजाको स-साना पुरिया बनाई बिक्रीवितरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–९ बरमझियाका ३२ वर्षीय अब्दुल रहमानलाई ३६० ग्राम गाँजासहित पक्राउ गरिएको हो।
रहमानले आफ्नै घरमा गाँजाको स-साना पुरिया बनाई प्रतिपुरिया १०० रुपैयाँमा स्थानीय युवाहरूलाई बिक्रीवितरण गर्ने गरेको विशेष सूचनाका आधारमा प्रहरीले उनीमाथि निगरानी राखेको थियो। निगरानीका क्रममा उक्त गतिविधि पुष्टि भएपछि इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले मिति २०८३ कात्तिक ८ गते साँझ करिब ६ बजे उनको घरमा रीतपूर्वक तलासी लिएको थियो।
तलासीका क्रममा बिक्रीका लागि तयार पारिएका कागजका ५५ वटा पुरियामा जम्मा ३६० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। गाँजासहित नियन्त्रणमा लिइएका रहमानमाथि लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।
यसैगरी, जनकपुरधाम उपमहानगरपालिका–२० रूपैठाका ३५ वर्षीय रामललित साहलाई पनि गाँजाका १४ वटा पुरियासहित प्रहरीले नियन्त्रणमा लिएको छ।
साहलाई मिति २०८३ कात्तिक ५ गते साँझ करिब ५ बजे ९३ ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि पनि लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।



















