६ कात्तिक , जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२० मा आपराधिक लाभ तथा बाल यौनदुरुपयोग कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दशैंको मेला हेरेर बसैलातर्फ पैदल हिँडिरहेका एक युवक र एक बालिकालाई दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले बाटो छेकी ब्ल्याकमेल गरेको सूचना प्राप्त भएको थियो।
उक्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले २०८३ कात्तिक ५ गते बिहान करिब ३ बजे घटनामा संलग्न रहेको आरोपमा चार जनालाई दुई वटा मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा आरोपितहरूले पीडितहरूलाई घेरा हाली भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गरिदिने धम्की दिएको खुलेको छ। त्यस्तै, पीडितका अभिभावकलाई फोन गरी धम्क्याउँदै बार्गेनिङ गरेर मोबाइल बैंकिङमार्फत ६ हजार रुपैयाँसमेत ट्रान्सफर गर्न लगाएको प्रहरीले जनाएको छ।
आरोपितहरूले बालिकाको संवेदनशील अंगमा गलत मनसायले छुनेलगायतका हर्कत गरेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२० निवासी २३ वर्षीय सुकन महतो, २६ वर्षीय सन्तोष कुमार दास, २२ वर्षीय पनेश कुमार महतो र ३० वर्षीय सुजित महतो रहेका छन्।
प्रहरीले घटनामा प्रयोग भएका ज १२ प ७७७ र मधेश प्रदेश ०२–०९ प २९०२ नम्बरका दुई वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।
पक्राउ परेका चारै जनामाथि आपराधिक लाभ लिन नहुने तथा बाल यौनदुरुपयोग गर्न नहुनेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















