जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा, बालेन र मोदीले संयुक्त उद्घाटन गर्ने

१३ कात्तिक , जनकपुरधाम।  जनकपुरधामदेखि भारतको अयोध्यासम्म जोड्ने रामायण सर्किटअन्तर्गतको विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। उक्त रेल सेवाको उद्घाटन नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एउटै मञ्चबाट संयुक्त रूपमा गर्ने तयारी गरिएको छ।

नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार आगामी ६ मंसिरदेखि हुने प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

रेल सेवा सञ्चालनका लागि नेपाल र भारतका सुरक्षा, भन्सार तथा अध्यागमन अधिकारीहरूबीच आवश्यक समन्वय र सहमति भइसकेको बताइएको छ।

जनकपुरधामलाई भारतको अयोध्यासँग जोड्ने यो रेल सेवाले धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई प्रत्यक्ष रूपमा जोड्ने यस सेवाबाट रामायण सर्किटको धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

यसका साथै भारतीय तीर्थयात्री तथा पर्यटकको आवागमन बढ्ने, स्थानीय व्यापार व्यवसाय विस्तार हुने र जनकपुरधामसहित मधेश प्रदेशको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

रेल सेवा सञ्चालनमा आएपछि जनकपुरधाम र अयोध्याबीच धार्मिक पर्यटनसँगै दुई देशबीचको जनस्तरको सम्बन्ध थप प्रगाढ हुने विश्वास गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    राजर्षिजनक विश्वविद्यालयको ९औँ वार्षिकोत्सव सम्पन्न, डिजिटल प्रणालीमा लैजाने घोषणा

    Read more

    चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई लिएर सरकार उच्च सतर्कतामा

    Read more