१२ कात्तिक , काठमाडौ । नेपाली कांग्रेसका नगर सभापति लालबाबु मिश्राले जनकपुरधाम उपमहानगरपालिकाको समग्र विकासका लागि पाँच प्रमुख विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
जनकपुरधामलाई सफा, व्यवस्थित र सुन्दर सहर बनाउनुका साथै नागरिकको दैनिक जीवन सहज बनाउन फोहर व्यवस्थापन, ढल निकास, छाडा चौपाया नियन्त्रण, ग्रामीण क्षेत्रमा कृषि सडक तथा विद्युतीकरण र धार्मिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ।
मिश्राका अनुसार जनकपुरधामको विकासलाई प्रभावकारी बनाउन सबैभन्दा पहिले फोहर व्यवस्थापनलाई व्यवस्थित र वैज्ञानिक बनाउनुपर्छ। घरघरबाट फोहर सङ्कलन, फोहरको वर्गीकरण, प्रशोधन तथा उचित विसर्जनको व्यवस्था गरी मुख्य बजार, सडक, गल्ली र सार्वजनिक स्थललाई नियमित सफा राख्ने प्रणाली विकास गर्न आवश्यक छ।
त्यसैगरी, वर्षायाममा हुने जलजमाव, नालाको अवरोध र ढल निकासको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न व्यवस्थित ढल सञ्जाल निर्माण, पुराना नालाको मर्मत तथा स्तरोन्नति गर्नुपर्नेमा उनले जोड दिएका छन्।
नगरका सडक तथा सार्वजनिक स्थलमा छाडा चौपायाका कारण उत्पन्न हुने दुर्घटना, ट्राफिक अवरोध र सरसफाइको समस्या समाधान गर्न पनि प्रभावकारी कार्यक्रम आवश्यक रहेको मिश्राको भनाइ छ। चौपायाका लागि उचित आश्रयस्थल, आहार, उपचार र संरक्षणको व्यवस्था गर्दै पशुधनीलाई समेत जिम्मेवार बनाउनुपर्ने उनले उल्लेख गरेका छन्।
ग्रामीण तथा कृषि क्षेत्रको विकासलाई नगरको समग्र विकाससँग जोड्न कृषि सडक निर्माण तथा स्तरोन्नति र विद्युतीकरणलाई प्राथमिकता दिनुपर्ने उनको अर्को प्रस्ताव छ। किसानले उत्पादन गरेका कृषि उपज सहज रूपमा बजारसम्म पुर्याउन सडक पूर्वाधारको विकास तथा विद्युत् सेवाको पहुँच र नियमित आपूर्ति सुनिश्चित गर्न आवश्यक रहेको उनले बताएका छन्।
यसैगरी, जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएका ५२ कुटी र ७२ कुण्डको संरक्षण तथा व्यवस्थित विकास गर्नुपर्नेमा मिश्राले जोड दिएका छन्। ती सम्पदाको सरसफाइ, अभिलेखीकरण र संरक्षणसँगै पर्यटकीय पूर्वाधार निर्माण गर्न सम्बन्धित निकाय तथा स्थानीय समुदायबीच समन्वय आवश्यक रहेको उनको धारणा छ।
धार्मिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनबाट जनकपुरधामको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न सकिने उनको विश्वास छ।
मिश्राले अघि सारेका यी पाँच प्राथमिकताले जनकपुरधामको आधारभूत पूर्वाधार सुधार, नागरिकलाई सहज सेवा प्रवाह तथा धार्मिक र पर्यटकीय सम्भावनाको उपयोगमा जोड दिएका छन्।



















