एन–प्याब्सन नेपाल निलम्बित, अर्को निर्णय नभएसम्म संगठनका गतिविधिमा रोक

१३ कात्तिक , काठमाडौ । नेपाल सरकारको गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई निलम्बन गरेको छ।

मन्त्रालयले २०८३ कात्तिक १३ गते सार्वजनिक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि एन–प्याब्सनलाई निलम्बन गरिएको जनाएको हो।

राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर सञ्चालनमा रहेको उक्त संगठनले ऐनको दफा ५ अनुसार मन्त्रालयबाट जारी निर्देशन पटक–पटक पालना नगरेको मन्त्रालयको सूचनामा उल्लेख छ।

त्यसैगरी, संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका गतिविधि गरेको पनि मन्त्रालयको दाबी छ।

यस विषयमा मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरी राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयबाट २०८२ मंसिर १२ गते जारी निर्देशनअनुसार कार्य गर्न आग्रह गरेको थियो। तर, उक्त निर्देशनसमेत पालना नभएको भन्दै मन्त्रालयले ऐनको दफा ६ को उपदफा (२) बमोजिम संगठनलाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ।

मन्त्रालयले सार्वजनिक सूचनामार्फत निलम्बनपछि संस्थाको नाममा कुनै पनि समूह वा व्यक्तिबाट गतिविधि सञ्चालन गरिएमा गैरकानुनी हुने र प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।

मन्त्रालयको यो निर्णयसँगै देशभर निजी तथा आवासीय विद्यालयसँग सम्बन्धित संगठनात्मक गतिविधिमा प्रभाव पर्ने देखिएको छ।

  • सम्बन्धित समाचारहरु

    विशेष अधिवेशनदेखि विधान संशोधनसम्म एन प्याब्सन लाई मन्त्रालय को निर्देशन

    Read more

    सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

    Read more