१४ कात्तिक , जनकपुरधाम। धनुषाको नगराइन नगरपालिका–७ देवडिहाबाट दश दिनअघि बेपत्ता भएका सात वर्षीय बालक साकेत झाको शव क्षतविक्षत अवस्थामा फेला परेको छ।
विजयादशमीकै दिन गत कार्तिक ४ गते घरबाट निस्किएपछि सम्पर्कविहीन भएका स्थानीय अजय झाका छोरा साकेतको शव शनिबार फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार बालक हराएको स्थानबाट करिब दुई किलोमिटर उत्तरतर्फ धान खेतमा उनको शव फेला परेको हो।
बालक घरबाट बेपत्ता भएपछि परिवारजन र प्रहरीले निरन्तर खोजीकार्य गर्दै आएका थिए। खोजीका क्रममा आसपासका गाउँबस्ती, पोखरी तथा झाडीहरूमा समेत अनुसन्धान गरिएको थियो। तर, दश दिनसम्म उनको अवस्था पत्ता लाग्न सकेको थिएन।
अन्ततः शनिबार धान खेतमा क्षतविक्षत अवस्थामा शव फेला परेपछि घटनाले गाउँमा शोक र त्रास फैलिएको छ।
बालकको मृत्यु कसरी भयो र घटनामा कुनै आपराधिक संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको वास्तविक कारण तथा विस्तृत विवरण भने खुल्न बाँकी छ।
दशैँको खुसीयालीकै दिनदेखि बेपत्ता भएका बालकको शव फेला परेपछि देवडिहा गाउँ शोकमा डुबेको छ भने परिवारजन गहिरो पीडामा छन्।


















