महन्थ ठाकुरको दाबी : मधेश सरकारको नेतृत्व अब लोसपाले गर्ने

भदौ १७, सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेशमा अब सरकार बनाउने पालो आफ्नो पार्टीको आएको दाबी गर्नुभएको छ ।

मङ्गलबार राजविराजमा लोसपा सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले मधेशी दलहरूले विगत साढे सात वर्षदेखि सरकारको नेतृत्व गरिसकेकाले अब नेतृत्व लोसपाले गर्ने समय आएको बताउनुभयो ।

उहाँका अनुसार केन्द्रमा भएको सत्ता–गठबन्धनअनुसार सात प्रदेशमध्ये तीन कांग्रेस, तीन एमाले र मधेश प्रदेश मधेशी दललाई दिने सहमति भएको छ । त्यसैले अहिले कांग्रेस–एमाले मिलेर मात्र सरकार बन्न नसक्ने र मधेशी दलको साथ अपरिहार्य हुने भन्दै उहाँले मधेश प्रदेशमा सरकारको नेतृत्व अब लोसपाले गर्नुपर्नेमा जोड दिनुभयो ।

“मधेश प्रदेशमा सरकार परिवर्तन तत्काल सम्भव छैन तर रूपन्देही उपनिर्वाचनपछि परिस्थिती बदलिन सक्छ,” उहाँले भन्नुभयो, “२०८४ सम्म केन्द्रमा दुई ठूला दलको बहुमत सरकार चल्ने देखिन्छ, त्यसबीच लोसपा सरकारमै रहेरै जनताको पक्षमा आवाज उठाउनेछ ।”

अध्यक्ष ठाकुरले मधेशमा परेको खडेरी र खानेपानी समस्याबारे सदन र सरकार दुवैमा निरन्तर आवाज उठाइरहेको बताउनुभयो । प्रधानमन्त्रीसँगै आफैंले पनि सुख्खाग्रस्त क्षेत्रको अवलोकन गरेको उल्लेख गर्दै उहाँले पाँच सय डिप बोरिङ दिने प्रधानमन्त्रीको घोषणा अझै कार्यान्वयन नभएकोप्रति असन्तुष्टि प्रकट गर्नुभयो ।

त्यसैगरी उहाँले मधेश प्रदेशबाट जाने राजस्वको कम्तिमा ३५ प्रतिशत फिर्ता आउनुपर्ने माग गर्दै हालसम्म २० प्रतिशत पनि नफर्केको आरोप लगाउनुभयो ।

बुधबार राजविराजमा आयोजना हुने सङ्घीय लोकतान्त्रिक मोर्चाको कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष ठाकुरले विगतका आन्दोलनले पहिचान दिलाए पनि अधिकार अझै प्राप्त नभएकाले पुनः मोर्चा बनाएर जनतामाझ पुग्नुपर्ने बताउनुभयो ।पत्रकार सम्मेलनमा लोसपाका वरिष्ठ उपाध्यक्ष जयप्रकाश ठाकुर, जिल्ला अध्यक्ष सुनिल झा लगायत अन्य नेताहरूको समेत उपस्थिति रहेको थियो ।

 

 

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more