भदौ १७, लहान। सिरहा जिल्लाको लहान नगरपालिका–१ मटियर्वामा एकै परिवारका आमा र पाँच वर्षीय छोराको शव फेला परेको छ भने चार महिनाको शिशु जीवित अवस्थामा उद्धार गरिएको छ ।
लहान नगरपालिका–१२ घर भई हाल मटियर्वास्थित कोठामा भाडामा बस्दै आएकी २३ वर्षीया रन्जिता चौधरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । सोही कोठामा उनका ५ वर्षीय छोरा एरोन चौधरी हत्या गरिएको अवस्थामा भेटिएका छन् ।
छिमेकीहरूले कोठाबाट दुर्गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय लहानका अनुसार प्रहरी टोली घटनास्थलमा पुगेपछि रन्जिता झुन्डिएको अवस्थामा तथा उनका छोरा मृत भेटिएका हुन् । प्रारम्भिक अनुमान अनुसार उनीहरूको मृत्यु भएको ३–४ दिन भइसकेको देखिन्छ ।
त्यसै कोठामा रन्जिताको चार महिनाको अर्काे बच्चा जीवित अवस्थामा फेला परेको छ । बच्चाको अवस्था गम्भीर रहेकाले तत्कालै अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको कारण अहिलेसम्म स्पष्ट नभए पनि प्रहरी आत्महत्या र बालकको हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइरहेको छ । घटनाले स्थानीयवासी स्तब्ध बनेका छन् ।प्रहरी स्रोतका अनुसार घटनाको विस्तृत विवरण र पोस्टमार्टम रिपोर्टपछि मात्र थप तथ्य सार्वजनिक हुनेछ।



















