भदौ १९, काठमाडौ । सामाजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटा ले नेपाल सरकारसँग आधिकारिक सम्पर्क गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयमार्फत मेटाले औपचारिक प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुर कार्यालयमा कार्यरत अन्सारी थरका एक कर्मचारीले मन्त्री गुरुङका स्वकीय सचिव शालिग्राम पराजुलीलाई सम्पर्क गरेका हुन्।
ठाकुरका अनुसार, उक्त सम्पर्कपछि मन्त्रीका सचिवले दर्ता तथा सूचीकरणका लागि आवश्यक विवरण मागेका थिए। त्यसको लगत्तै मन्त्रालयले मेटालाई इमेलमार्फत आवश्यक विवरण पठाइसकेको उनले जानकारी दिए।
उनका अनुसार, “मेटाको सिंगापुरमा कार्यरत अन्सारी थरका कर्मचारीले दर्ता तथा सूचीकरणका लागि के–के कागजात चाहिन्छ भनेर सोध्नुभएको रहेछ। मन्त्रीज्यूको पीएले हामीलाई चाँडै पठाइदिन भन्नुभएपछि हामीले करिब पाँच मिनेटमै इमेल गरेर आवश्यक विवरण पठाइसकेका छौँ।”
प्रवक्ता ठाकुरका अनुसार मन्त्रालयले अघिल्लो साँझ करिब ५ बजे इमेल पठाएको हो। यससँगै नेपालभित्र फेसबुकसम्बन्धी दर्ता तथा सूचीकरण प्रक्रियामा औपचारिक पहल सुरु भएको मन्त्रालयले स्पष्ट पारेको छ।



















