प्रतिबद्धता पूरा नभए जसपा सडकमा उत्रिन्छ : उपेन्द्र यादव

१० अषाढ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले रास्वपा नेतृत्वको सरकारलाई चुनावी प्रतिबद्धता कार्यान्वयन गर्न चेतावनी दिएका छन्। सरकारले घोषणा गरेअनुसार काम नगरे आफ्नो पार्टी सडक संघर्षमा उत्रिने उनले बताएका छन्।
मंगलबार जनकपुरधाममा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला, अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै यादवले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले चुनावअघि तथा जनकपुर भ्रमणका क्रममा गरेका प्रतिबद्धताहरू स्मरण गराउँदै ती कार्यान्वयन हुनुपर्नेमा जोड दिए।
संविधान संशोधन, संघीयता सुदृढीकरण तथा मधेशका अधिकारका सवालमा सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्दै उनले प्रतिबद्धताअनुसार काम नभए जसपा नेपाल आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए।
“सरकारले बोलेका कुरा कार्यान्वयन गर्नुपर्छ। यदि घोषणा गरेअनुसार काम भएन भने जसपा नेपाल डन्डा लिएर सडकमा आउँछ,” यादवले भने।
उनले वर्तमान सरकारले अघि सारेका धेरै एजेन्डा जसपा नेपालले लामो समयदेखि उठाउँदै आएको दाबी गरे। संघीयता, समावेशिता र मधेशी समुदायका अधिकारका विषयमा आफ्नो पार्टीको भूमिका निर्णायक रहेको उनको भनाइ थियो।
अध्यक्ष यादवले प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित परिणाम प्राप्त गर्न नसके पनि पार्टी राजनीतिक रूपमा कमजोर नभएको दाबी गरे। उनले विगतको चुनावी नतिजाको समीक्षा गर्दै आगामी निर्वाचनका लागि संगठनलाई थप सुदृढ र प्रभावकारी बनाइने बताए।
मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारले गरेका विकास निर्माण तथा नीतिगत उपलब्धिहरू जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउन नसक्दा चुनावी परिणाम प्रभावित भएको उनले स्वीकार गरे। जनकपुरधाममा एमबीबीएस अध्ययनको व्यवस्था, कृषि विश्वविद्यालय स्थापना लगायतका महत्वपूर्ण उपलब्धि जसपा नेतृत्वकै सरकारको पहलमा सम्भव भएको उनको दाबी थियो।
यादवले अब पार्टीलाई जनस्तरसम्म थप सक्रिय बनाउँदै मधेश र मधेशी समुदायको हक–अधिकार सुनिश्चित गर्ने अभियानलाई तीव्रता दिइने बताए। जनादेशअनुसार काम गर्दै जनअपेक्षा पूरा गर्न जसपा नेपाल प्रतिबद्ध रहेको उनको भनाइ थियो।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more

    सुनसरी घटनाले पूर्वराजा ज्ञानेन्द्र चिन्तित, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि गरे अपिल

    Read more