जनकपुरबाट रास्वपाको चुनावी अभियान सुरु

माघ ५, जनकपुरधाम। शिवराम झा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार जनकपुरधामबाट औपचारिक रूपमा चुनावी अभियानको सुरुवात गरेको छ। मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित ‘परिवर्तन उद्घोष सभा’लाई पार्टीले शक्ति प्रदर्शनका रूपमा प्रस्तुत गरेको छ। सभामार्फत रास्वपाले दुई स्पष्ट राजनीतिक सन्देश दिएको छ—अबको प्रधानमन्त्री मधेसको छोरा हुनेछन् र रास्वपा संघीयताको विरोधी होइन।
तिरहुतिया गाछीमा आयोजित सभालाई रास्वपाका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए। आइतबार मात्र काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन्द्र शाह (बालेन), पार्टी सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, सांसद सोविता गौतमलगायत नेताहरू जनकपुर पुगेका थिए। सभामा बालेन मधेसको पहिचान झल्किने गम्छा र भादगाउँले टोपी लगाएर देखिएका थिए भने रवि लामिछानेसहित अन्य नेताहरूले पनि गम्छा लगाएका थिए। बालेनले मैथिली भाषामा सम्बोधन गर्दा युवाहरूको उत्साहजनक हुटिङ देखिएको थियो।

सभामा रास्वपा संघीयताको विपक्षमा नभएको सन्देशलाई विशेष जोड दिइयो। बालेनले प्रदेशलाई अझ बलियो बनाइनुपर्ने आवश्यकता औंल्याउँदै जनकपुर प्रदेशको राजधानी भए पनि सामान्य प्रशासनिक कामका लागि काठमाडौं धाउनुपर्ने अवस्थामाथि प्रश्न उठाए। उनले काठमाडौं अधिकार माग्न जाने सहर नभई घुम्न जाने सहर हुनुपर्ने बताए। उपसभापति स्वर्णिम वाग्लेले प्रदेशको संख्या घटाउने विषय उठाएनन् तर अर्थहीन संरचनाको पुनर्संरचना आवश्यक रहेको धारणा राखे। उनले सिंहदरबारकै नक्कल गर्दै प्रदेश–प्रदेशमा खोलिएका संस्थाहरू सुधार गर्नुपर्ने र सयौं मन्त्री बनाउने प्रवृत्तिलाई सच्याइने स्पष्ट पारे।

जेनजी आन्दोलनबाट उदाएका युवा नेता पुरुषोत्तम यादवले मधेसको छोरा प्रधानमन्त्री बन्नु मधेसको सम्मान र वास्तविक संघीयताको सार्थकता भएको बताए। उनले बालेनलाई प्रधानमन्त्री बनाउन मधेसका युवाले मतदान गर्ने विश्वास व्यक्त गरे। सभामा रवि लामिछानेले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नु आफ्नो त्यागको उदाहरण भएको बताए। उनले मधेस समस्या नभई समाधान भएको उल्लेख गर्दै मधेसको बेटा प्रधानमन्त्री बनेपछि संघीयता व्यवहारमै सफल हुने दाबी गरे।
सम्बोधनका क्रममा बालेनले मतदातालाई भावनामा होइन विवेकमा मतदान गर्न आग्रह गरे। मधेसको छोरा भएकै कारण मात्र होइन, सही व्यक्ति, सही समय र सही सरकार आउने भएकाले घण्टी चिन्हमा भोट दिन अनुरोध गरे। रवि लामिछानेले आफू र बालेनबीच सहमति पाँच मिनेटमै टुंगिएको दाबी गर्दै छोटो संवादमै सहकार्य सम्भव भएको अनुभव सुनाए।
सभाबाट विभिन्न दल परित्याग गरी रास्वपामा प्रवेश गर्ने क्रम पनि देखियो। नेकपा माओवादी केन्द्र छाडेका मधेस प्रदेशसभा सांसद रहबर अन्सारीले मधेसको छोरो प्रधानमन्त्री बन्ने अवसर आएको भन्दै रास्वपामा प्रवेश गरेको बताए। पूर्व स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह पनि सभामै रास्वपामा प्रवेश गरे। उनले बालेन र रवि लामिछानेलाई देशका नायकको संज्ञा दिँदै आफू नायकहरूको सिपाही बन्न आएको बताए।
रास्वपाले बालेन शाहलाई औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै चुनावी मैदानमा होमिएको छ। बालेन प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्ने तयारीमा रहेको जनाइएको छ। जनकपुरको सभाबाट रास्वपाले मधेसलाई केन्द्रमा राख्दै राष्ट्रिय राजनीतिलाई नयाँ दिशातर्फ लैजाने संकेत दिएको छ।

  • सम्बन्धित समाचारहरु

    एमाले रूपान्तरणका लागि शंकर पोखरेलले अघि सारे ७ सूत्र

    Read more

    भारतसँग सबै क्षेत्रमा सहकार्य विस्तार गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

    Read more