आज धनुषा लगायत देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता

माघ ६, जनकपुरधाम। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुने व्यवस्था गरिएको छ ।
उम्मेदवारी दर्ताका लागि उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । साथै, सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक पर्ने आयोगले जनाएको छ ।
आयोगले उम्मेदवारी दर्ताका क्रममा कुनै पनि प्रकारको तडकभडक नगर्न, शान्तिपूर्ण र मर्यादित रूपमा निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरेको छ । भीडभाड न्यूनीकरण र प्रक्रिया सहज बनाउन प्रमुख राजनीतिक दल तथा उम्मेदवारका लागि समयसमेत तोकिएको आयोगले स्पष्ट पारेको छ ।
यसअघि आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये समानुपातिक प्रणालीमार्फत ११० जना र प्रत्यक्ष प्रणालीमार्फत १६५ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।
गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया समेत सुरु भइसकेको छ ।
अधिकांश राजनीतिक दलहरूले उम्मेदवार छनोटको प्रक्रिया पूरा गरिसकेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको जनाएको छ भने नेपाली कांग्रेसले केही क्षेत्रहरूमा उम्मेदवार छनोटको प्रक्रिया अन्तिम चरणमा रहेको बताएको छ । एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरूले उम्मेदवार छनोट गरी आधिकारिक पत्रसमेत प्रदान गरिसकेका छन् ।

  • सम्बन्धित समाचारहरु

    निर्दलीय स्थानीय निर्वाचनको सिफारिस स्वागतयोग्य : युवा नेता प्रवेश चौधरी —

    Read more

    संघीयता सुदृढीकरणको मागसहित जनमत पार्टी सडकमा उत्रिने

    Read more