माघ १४, काठमाडौ । भदौ २३ गते भएको हिंसात्मक घटनाबारे आफूले नागरिकमाथि गोली चलाउन आदेश दिएको भन्ने प्रचार पूर्ण रूपमा निराधार रहेको पूर्व प्रधानमन्त्रीले बताएका छन्।
बुधबार जारी वक्तव्यमा उनले संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको उल्लेख गर्दै आफूले त्यस्तो आदेश कहिल्यै नदिएको र दिन नसक्ने स्पष्ट पारे।
उक्त घटनामा १९ जना बालबालिकाको ज्यान गएकोप्रति गहिरो दुःख व्यक्त गर्दै उनले घटनापछि तत्काल पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरिएको जानकारी दिए। “ज्यान गुमाएका नानीबाबुप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दछु। त्यो पीडा आजसम्म मसँगै छ,” उनले भने।
उनका अनुसार सम्भावित घुसपैठको सूचनाका आधारमा माइतीघर क्षेत्रमा प्रदर्शन रोक्ने निर्णय गरिएको थियो। तर युवाहरूले शान्तिपूर्ण सभाको अनुमति मागेपछि प्रशासनले अनुमति दिएको र प्रदर्शन सुरुमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको दाबी उनले गरे।
करिब मध्याह्नपछि केही समूहले प्रदर्शनमा घुसपैठ गरी युवाहरूलाई निषेधित क्षेत्रतर्फ लैजान खोजेको आरोप उनले लगाए। आयोजकहरूले घुसपैठबारे जानकारी दिँदै प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरेको पनि उनले उल्लेख गरेका छन्।
संसद् भवनअघि आगजनीको प्रयास तथा विस्फोटक पदार्थ प्रयोग भएपछि अवस्था ‘आन्दोलन’ नभई ‘राज्यविरुद्धको हमला’मा परिणत भएको उनको दाबी छ। संसद् भवनभित्र सुरक्षाकर्मीमाथि आक्रमण भएपछि कानुनअनुसार गोली चलेको उनले बताएका छन्।
“सरकारको आदेशमा गोली चलेको होइन, सुरक्षाकर्मीले कानुनअनुसार बल प्रयोग गरेका हुन्,” वक्तव्यमा भनिएको छ। उनले राजीनामापछि भदौ २४ गते सिंहदरबार, राष्ट्रपति भवन र सर्वोच्च अदालतजस्ता संरचनामा तोडफोड र आगजनी भएको उल्लेख गर्दै घटनाक्रमले अराजकता फैलाउने नियोजित प्रयास भएको संकेत गरेको बताएका छन्।
शान्तिपूर्ण प्रदर्शनमा प्रहरीबाट बल प्रयोग नभएको दाबी गर्दै उनले माइतीघरको प्रदर्शनबाट युवाहरूलाई निषेधित क्षेत्रतर्फ कसले र किन मोड्यो भन्ने विषयमा पनि छानबिन हुनुपर्ने माग गरेका छन्।
सामाजिक सञ्जालमा फैलाइएका ‘भ्रामक प्रचार’मा नलाग्न आग्रह गर्दै उनले खुला बहसमा सहभागी हुन आफू तयार रहेको बताएका छन्।

















