आमा–छोरा हत्या प्रकरण: बुहारी नै मुख्य योजनाकार रहेको प्रारम्भिक निष्कर्ष, दुई पक्राउ

१५ माघ , बारा।  बाराको परवानीपुर गाउँपालिका–१ मा भएको आमा–छोरा हत्याकाण्डमा प्रारम्भिक अनुसन्धानबाट बुहारी नै मुख्य योजनाकार रहेको तथ्य खुलेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा मृतकका २३ वर्षीया बुहारी मानिता देवी र एक युवकलाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार ५२ वर्षीया सुमित्रा देवी र उनका ३२ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या रामेश्वरकी श्रीमती मानिता देवीको योजनामा गरिएको प्रारम्भिक निष्कर्षमा अनुसन्धान पुगेको छ। पक्राउ परेका युवक मानिताका पूर्वपरिचित (पूर्वप्रेमी) रहेको र वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका उनलाई योजनाबद्ध रूपमा नेपाल बोलाइएको अनुसन्धानबाट खुलेको छ।
ती युवक माघ १२ गते दुबईबाट काठमाडौं आइपुगेका र सोही दिन बारा गएको विवरण प्रहरीले सार्वजनिक गरेको छ। हत्या ‘सुपारी’ मार्फत गराइएको हो वा प्रत्यक्ष संलग्नतामै हत्या गरिएको हो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार योजनाबद्ध आक्रमण भएको आशंका बलियो देखिएको छ।
गएराति घरभित्रै सुमित्रा देवी र रामेश्वर मण्डलको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। घटनामा ५० वर्षीय जगरुप मण्डल र २० वर्षीया रिणा कुमारी मण्डल गम्भीर घाइते भएका छन्। उनीहरूको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।
बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार घटनाबारे थप प्रमाण संकलन तथा फरार आशंकित एक व्यक्तिको खोजी कार्य तीव्र पारिएको छ। पक्राउ परेका दुवै जनाको शरीरमा सामान्य चोटपटक देखिएको प्रहरीले जनाएको छ।
घटनाले स्थानीय क्षेत्रलाई स्तब्ध बनाएको छ। प्रहरीले विस्तृत अनुसन्धान जारी रहेको र आवश्यक तथ्य पुष्टि भएपछि थप विवरण सार्वजनिक गरिने जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more