१४ माघ,बारा। — बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा धारिलो हतियार प्रहार गरेर आमा–छोराको हत्या गरिएको छ भने बुबासहित तीन जना घाइते भएका छन्।
मृतकहरू ३२ वर्षीय रामेश्वर मण्डल र उनकी ५२ वर्षीया आमा सुमित्री देवी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। घटनामा रामेश्वरका बुवा जगरुक मण्डल गम्भीर घाइते भएका छन्। अन्य दुई जनासमेत घाइते भएको प्रहरी स्रोतले बताएको छ।
घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने जगरुक मण्डलको अवस्था गम्भीर रहेको जनाइएको छ।
घटना के कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिको खोजी तथा थप अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

















