माघ १४,काठमाडौं । — भारतको पश्चिम बङ्गाल राज्यमा घातक निपा भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपालसहित एशियाका विभिन्न देशहरूले सतर्कता कडा बनाएका छन्।
नेपाल सरकारले भारतसँग जोडिएका प्रमुख सीमानाका र काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतबाट आउने यात्रुको स्वास्थ्य जाँच (स्क्रीनिङ) सुरु गरेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा निपा भाइरसका कुनै पनि सङ्क्रमित व्यक्ति फेला परेका छैनन्।
सङ्क्रमण फैलिन नदिन थाईल्यान्डले पनि पश्चिम बङ्गालबाट उडान हुने विमानस्थलहरूमा यात्रुको परीक्षण थालिएको जानकारी दिएको छ।
यो महिनाको सुरुआतमा पश्चिम बङ्गालमा पाँच जना स्वास्थ्यकर्मी निपा भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको थियो। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। सङ्क्रमितहरूसँग सम्पर्कमा आएका करिब ११० जनालाई क्वारेन्टीनमा राखेर निगरानी बढाइएको छ।
निपा भाइरस पशुबाट मानिसमा सर्ने (जुनोटिक) रोग हो, जसको मुख्य स्रोत फलफूल खाने चमेरा मानिन्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार निपा सङ्क्रमणमा ४० देखि ७५ प्रतिशतसम्म मृत्युदर देखिएको छ। हालसम्म यसविरुद्ध प्रभावकारी खोप वा विशेष औषधि उपलब्ध छैन।
स्वास्थ्य विज्ञहरूले सीमाक्षेत्रमा निगरानी, संक्रमणको लक्षण देखिए तत्काल परीक्षण तथा आइसोलेसन, र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्।



















