१५औँ महाधिवेशनमा पनि सभापति बन्ने गगन थापाको दाबी, सर्लाही–४ केन्द्रित सक्रियता बढाउँदै

माघ १४,सर्लाही।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनबाट पनि आफू नै सभापति बन्ने स्पष्ट दाबी गरेका छन्। सर्लाहीको बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै थापाले विशेष महाधिवेशनमार्फत हालै मात्र सभापति बनेको स्मरण गराउँदै अब नियमित महाधिवेशनबाट पनि नेतृत्व निरन्तरता दिने तयारीमा रहेको बताए।
उनले आफू नेतृत्वबाट पछि हट्ने व्यक्ति नभएको उल्लेख गर्दै कांग्रेसको जिम्मेवारी अझै केही समय सम्हाल्ने दृढता व्यक्त गरे। “म भाग्ने मान्छे होइन। म कांग्रेसको सभापति बल्ल बनेको छु। अब महाधिवेशन आउँदै छ, फेरि सभापति बन्नेछु र त्यसपछि पनि केही समय क्रियाशील राजनीतिमा रहनेछु,” थापाले भने।
सभापति थापाले प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही–४ बाट उम्मेदवारी दिएको सन्दर्भमा आफू मधेशको छोरा बनेर राजनीति गर्न आएको बताए। काठमाडौं–४ का मतदाताले आफूलाई त्यहीँबाट चुनाव लड्न आग्रह गरे पनि सर्लाहीका जनताको भरोसामा यहाँ आएको उनले स्पष्ट पारे। आगामी दिनमा सर्लाही–४ का मतदाताले पनि आफूलाई यहीँबाट नेतृत्व गर्न आग्रह गर्ने वातावरण बन्ने विश्वास उनले व्यक्त गरे।
थापाले कांग्रेसलाई संगठनात्मक रूपमा थप मजबुत बनाउँदै मधेशसँगको सम्बन्ध अझ गहिरो बनाउने लक्ष्य रहेको बताए। पार्टीभित्र एकता, अनुशासन र स्पष्ट राजनीतिक दिशाको आवश्यकता औंल्याउँदै उनले आगामी महाधिवेशनमार्फत कांग्रेसलाई थप सशक्त र संगठित बनाइने प्रतिबद्धता जनाए।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more