लिङ्देनको चेतावनी : ‘देश जुनसुकै बेला दुर्घटनामा जान सक्ने जोखिम बढ्यो’

३० भदौ, काठमाडौ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक जुनसुकै बेला दुर्घटनामा जान सक्ने जोखिम बढेको बताएका छन्।

कञ्चनपुरमा आयोजित राप्रपाको जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले नयाँ सरकार गठन हुँदैमा देश सही दिशामा अघि बढेको निष्कर्ष निकाल्न नसकिने बताए। उनले नेपाल भूराजनीतिक रूपमा समेत गम्भीर जोखिममा रहेको दाबी गरे।

‘नयाँ सरकार आयो, देश अब एउटा बाटोमा गयो भन्ने कुरा होइन । देश अहिले झन् ठूलो अँध्यारो सुरुङमा प्रवेश गरेको छ,’ उनले भने, ‘कुनै पनि बेला देश दुर्घटनामा जान सक्ने सम्भावना बढेर गएको छ।’

मुलुकलाई निकास दिन सक्ने पार्टी राप्रपा मात्रै रहेको दाबी गर्दै लिङ्देनले पार्टीलाई अधिवेशनमार्फत थप सुधार र सुदृढ बनाउनुपर्नेमा जोड दिए।

उनले राप्रपाको राष्ट्रिय राजनीतिमा सम्भावना बढ्दै गएको दाबी गर्दै कांग्रेस र कम्युनिस्ट पार्टीहरू पुनः बलियो भएर उठ्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे। नयाँ शक्तिहरू पनि प्रभावकारी रूपमा अघि बढ्न नसकेको उनको भनाइ थियो।

‘राप्रपाको राष्ट्रिय राजनीतिमा सम्भावना अझ बढेको छ, अझ बलियो भएर गएको छ। अब कांग्रेस, कम्युनिस्टहरू फेरि उठ्न सक्ने अवस्थामा छैनन्,’ उनले भने, ‘नयाँ भन्नेहरू कुहिरोमा हराएको कागजस्ता भएका छन्।’

सरकारका गलत कामको विरोध गर्दा सामाजिक सञ्जालमार्फत आक्रमण हुने डरका कारण नागरिक मौन बसेको लिङ्देनले बताए। विगतमा माओवादीविरुद्ध बोल्दा बन्दुकको सामना गर्नुपरेको उल्लेख गर्दै उनले अहिले सरकारको विरोध गर्दा सामाजिक सञ्जालबाट आक्रमण हुने अवस्था आएको टिप्पणी गरे।

लिङ्देनले नेपाल भूराजनीतिक दृष्टिले अत्यन्त जोखिमपूर्ण अवस्थामा पुगेको र विश्व समुदायबाट नेपाल एक्लिँदै गएको दाबीसमेत गरे।

विगतमा एकल बहुमत प्राप्त दलले समेत पाँच वर्ष संसद् चलाउन नसकेको उदाहरण प्रस्तुत गर्दै उनले वर्तमान संसद्को भविष्यप्रति समेत आशंका व्यक्त गरे।

‘२००७ सालपछि २०१५ मा नेपाली कांग्रेसले दुई तिहाइ ल्यायो, त्यो पाँच वर्ष चलेन । २०४८ सालमा कांग्रेसले बहुमत ल्यायो, त्यो पनि पाँच वर्ष चलेन,’ उनले भने, ‘२०५४ मा पनि त्यसै प्रकारका बहुमतहरू आए, तर कुनै पनि संसद् पाँच वर्ष चलेको छैन।’

वर्तमान संसद् पनि पाँच वर्ष नै चल्छ भन्ने ग्यारेन्टी नरहेको भन्दै लिङ्देनले राप्रपाका नेता–कार्यकर्तालाई समयमै सच्चिएर संगठनलाई बलियो बनाउन आग्रह गरे।

‘अहिले भन्नु हतारजस्तो हुन्छ, तर हाम्रो कार्यकर्ता पङ्क्तिलाई भनेर जान्छु—यो संसद् पनि पाँच वर्ष जान्छ भन्ने कुनै ग्यारेन्टी छैन,’ उनले भने, ‘त्यसैले हामी सच्चिएर, सुध्रिएर तयार बनौँ।’

  • सम्बन्धित समाचारहरु

    मूल्यवृद्धि र ग्यास अभावविरुद्ध असोज ६ गते आयल निगम घेराउ गर्ने अग्रगामी युवा मोर्चाको घोषणा

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more