२७ भदौ, जनकपुरधाम। जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले सत्ता स्वार्थका लागि विगतमा नेपाली कांग्रेस र नेकपा (एमाले)सँग सहकार्य गर्नु आफूहरूको ठूलो गल्ती भएको स्वीकार गरेका छन्।
शनिबार जनकपुरधाममा ‘९ दलीय अग्रगामी मोर्चा’को मधेस प्रदेश समन्वय समितिले आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै यादवले यस्तो बताएका हुन्।
यादवले नेपालका कम्युनिस्ट पार्टीहरू सिद्धान्तबाट च्युत भएर ‘कामाउनिस्ट’ बनेको आरोप लगाउँदै देशको वर्तमान अवस्थाका लागि एमाले सबैभन्दा ठूलो दोषी रहेको दाबी गरे। मधेसमा प्रदेश संरचना बने पनि मधेसी समुदायको आफ्नै शासन, प्रशासन, भाषा र संस्कृति स्थापित हुन नसकेको उनको भनाइ थियो।
उनले कांग्रेस र कम्युनिस्टले दिन नसकेको अधिकार अब अग्रगामी मोर्चामार्फत प्राप्त गर्ने दाबी गरे। वर्तमान सरकारलाई ‘कठपुतली सरकार’को संज्ञा दिँदै यादवले भन्सारदेखि शिक्षा, स्वास्थ्य र जन्मदेखि मृत्युसम्म करको भार थोपर्ने सरकार जनतालाई आवश्यक नरहेको बताए।
संसदमा मधेसी अनुहारको उपस्थिति भए पनि मधेसीका हक–अधिकारका विषयमा आवाज उठ्न नसकेको भन्दै उनले अब सडक आन्दोलनको विकल्प नरहेको बताए। जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित नभएसम्म वास्तविक लोकतन्त्र स्थापित हुन नसक्ने उनको भनाइ थियो।
प्रधानमन्त्रीले सङ्घीयता सुदृढीकरण, संविधान संशोधन, सुशासन र न्यायका विषय अघि बढाउने प्रतिबद्धता जनाए पनि अहिले ती प्रतिबद्धताबाट पछि हटेको आरोप लगाउँदै यादवले चाडपर्वपछि ठूलो आन्दोलन गर्ने चेतावनीसमेत दिए।
रसुवाको भोटेकोशीमा भएको बाढीको घटनालाई पनि उनले गम्भीर रूपमा उठाए। उक्त विपत्ति नेपाल र नेपालीका कारण नभई वैदेशिक कारणले भएको दाबी गर्दै यादवले क्षतिपूर्ति प्राप्त गर्न सरकारले कुनै कसर बाँकी राख्न नहुने बताए। प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको महासभामा यस विषयलाई जोडदार रूपमा उठाउनुपर्ने उनको माग थियो।
यसैबीच, आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले साझा चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ।
मोर्चाका महत्वपूर्ण नेतामध्येका नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले साझा चुनाव चिह्नमा निर्वाचन लड्ने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार तत्कालका लागि मोर्चामा आबद्ध नौ दल एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुनेछन्। त्यसपछि राजनीतिक, वैचारिक तथा संगठनात्मक आधारमा स्थायी एकताको दिशामा अघि बढ्ने लक्ष्य राखिएको छ।
‘यो केवल निर्वाचनसम्मको सहकार्य होइन, भविष्यमा स्थायी राजनीतिक एकताको आधार निर्माण गर्ने अभियान पनि हो,’ अन्सारीले बताए।
उनले प्रगतिशील, लोकतान्त्रिक, वाम तथा उत्पीडित समुदायका राजनीतिक शक्तिलाई एउटै राजनीतिक केन्द्रमा संगठित गर्नुपर्ने आवश्यकता औँल्याए। साना–साना दलमा विभाजित भएर निर्वाचनमा प्रतिस्पर्धा गर्दा परिवर्तनकारी शक्तिको प्रभाव कमजोर हुने भन्दै उनले वैकल्पिक राजनीतिक शक्ति निर्माणमा जोड दिए।
अन्सारीले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, समानता, सामाजिक न्याय, समावेशिता तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने गरी मोर्चालाई व्यापक राजनीतिक अभियानका रूपमा अघि बढाउनुपर्ने बताए।
जनकपुरधाममा सम्पन्न कार्यक्रममा सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाहीसहित मधेस प्रदेशका विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ताको सहभागिता थियो। कार्यक्रममा मोर्चाको आगामी राजनीतिक तथा संगठनात्मक रणनीतिबारे छलफल गरिएको थियो।
अग्रगामी मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल गरी नौ दल आबद्ध रहेको बताइएको छ।
नौ दलले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारी थालेसँगै आगामी निर्वाचनमा नयाँ राजनीतिक ध्रुव निर्माण हुने सम्भावना बढेको छ। साझा चुनाव चिह्नसँगै संगठनात्मक एकताको प्रक्रिया अघि बढेमा यसले मधेससहित राष्ट्रिय राजनीतिमा नयाँ समीकरण निर्माण गर्न सक्ने देखिन्छ।


















