३० भदौ, काठमाडौ । बढ्दो मूल्यवृद्धि, कालोबजारी, ग्यास अभाव तथा सरकारी सेवा प्रवाहमा भइरहेको ढिलासुस्तीविरुद्ध अग्रगामी युवा मोर्चाले आन्दोलनको घोषणा गरेको छ।
मोर्चाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै यही असोज ६ गते नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्ने जनाएको हो। ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गर्न तथा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि घटाउन सरकारमाथि दबाब दिन घेराउ गर्न लागिएको मोर्चाले जनाएको छ।
मोर्चाले रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको प्रभावकारी उद्धार, राहत तथा स्थायी पुनर्स्थापनाको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ। तीनै तहका सरकारी संयन्त्रबीच आवश्यक समन्वयको अभावमा विपद् व्यवस्थापन प्रभावकारी हुन नसकेको उसको आरोप छ।
त्यस्तै, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, सरकारी सेवा प्रवाहलाई सहज बनाउन, बजार अनुगमन तीव्र पार्दै कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न तथा अत्यावश्यक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न मोर्चाले माग गरेको छ।
मोर्चाले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी, बिचौलियाको सञ्जाल र श्रम शोषण नियन्त्रण गर्दै स्वदेशमै युवाका लागि रोजगारी, उद्यमशीलता र स्वरोजगारका अवसर सिर्जना गर्न सरकारसँग आग्रह गरेको छ।
आफ्ना माग तत्काल सम्बोधन नगरिए देशव्यापी रूपमा सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने मोर्चाले चेतावनी दिएको छ।

















