३० भदौ, काठमाडौ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका अधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाइएको छ। केन्द्रीय निर्वाचन समितिले ७७ वटै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको जनाएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ। त्यसअघि असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते पालिका अधिवेशन, तथा असोज १० गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने निर्वाचन तालिका छ।
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत चयन हुनेछन्।
केन्द्रीय निर्वाचन समितिका अनुसार जिल्ला निर्वाचन अधिकृतहरू सम्बन्धित जिल्लामा पुगेर जिल्ला कार्यसमितिसँग समन्वय गरी निर्वाचन प्रक्रियामा सक्रिय छन्।
समितिले प्रकाशित निर्वाचन प्रक्रियामा उत्साहपूर्ण सहभागिता जनाउन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई पुनः आग्रह गरेको छ।

















