मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

२९  भदौ, काठमाडौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायबाट प्राप्त सुझाव तथा गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताएकी छन्।

मधेस प्रदेशको भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै मन्त्री पोखरेलले शिक्षा सुधारका लागि विद्यार्थीका सुझाव र गुनासो महत्वपूर्ण रहेको बताइन्।

उनले प्राप्त सुझावलाई समेटेर विद्यमान पाठ्यक्रममा आवश्यक परिवर्तन गर्दै नयाँ पाठ्यक्रम निर्माणको प्रक्रिया अघि बढाइने जानकारी दिइन्।

मन्त्री पोखरेलले काठमाडौंमा बन्द कोठामा बसेर मात्रै पाठ्यक्रम निर्माण गर्ने अभ्यास अन्त्य गर्नुपर्नेमा जोड दिइन्। “विद्यार्थी भाइबहिनीले दिएका सुझाव र गुनासो अत्यन्तै मार्मिक छन्,” उनले भनिन्, “उहाँहरूले दिएका सुझावलाई सम्बोधन गरेर अहिलेको पाठ्यक्रममा आवश्यक परिवर्तन गरी नयाँ पाठ्यक्रम निर्माण गर्ने दिशामा अघि बढ्छौं।”

भदौ २६ गते धनुषाबाट सुरु भएको मन्त्रीसहितको टोलीको मधेस यात्रा सप्तरीको महावीर माध्यमिक विद्यालयमा पुगेर सम्पन्न भएको हो। यात्राका क्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायसँग शिक्षा क्षेत्रका समस्या, आवश्यकता र सुधारका विषयमा प्रत्यक्ष सुझाव संकलन गरिएको थियो।

मन्त्री पोखरेलका अनुसार भ्रमणका क्रममा काठमाडौंमा बसेर सहजै जानकारी पाउन नसकिने शिक्षा क्षेत्रका स्थानीय समस्या र व्यावहारिक चुनौतीबारे प्रत्यक्ष जानकारी प्राप्त भएको छ। कक्षाकोठादेखि समुदायसम्म पुगेर संकलन गरिएका अनुभव तथा सुझाव आगामी शिक्षा ऐनलगायतका कानुन र नयाँ राष्ट्रिय पाठ्यक्रम निर्माणका लागि महत्वपूर्ण आधार बन्ने उनको भनाइ छ।

मन्त्री पोखरेलले मधेसमा गुणस्तरीय इन्जिनियरिङ शिक्षाको आवश्यकता अत्यन्तै ठूलो रहेको बताइन्। मधेसमा कृषि शिक्षा विस्तार गर्नुका साथै कृषि कलेज स्थापना गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याइन्।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    जनकपुरधाम लगायत मिथिलाञ्चलमा आज लोकपर्व चौरचन मनाइँदै, जनकपुरधामसहित विभिन्न पालिकामा सार्वजनिक बिदा

    Read more