राहत सीमामै थन्कियो, सरकारी झन्झटले मानवता गिज्याएको नगर प्रमुख साहको आरोप

२६ भदौ, रौतहट । प्रेमचन्द्र झा— विपदमा परेका नागरिकलाई राहत उपलब्ध गराउन छिमेकी भारतको पश्चिम बङ्गालबाट ल्याइएको मानवीय राहत सामग्री गौरको सीमा नाकामै रोकिएपछि गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले सरकारी संयन्त्रको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।
नगर प्रमुख साहले बिहीबार आफ्नो सामाजिक सञ्जालमार्फत विपद्को समयमा सहयोग गर्न आएका हातलाई सरकारी झन्झटले निरुत्साहित पारिएको आरोप लगाएका हुन्। उनका अनुसार महाविपत्तिको समयमा छिमेकी मित्रराष्ट्र भारतको पश्चिम बङ्गालबाट श्रद्धा, सद्भाव र मानवीय सहयोग बोकेर आएको राहत सामग्री गौर नाकामै रोकिएपछि राज्य संयन्त्रको संवेदनशीलतामाथि प्रश्न उठेको छ।
साहका अनुसार तीर्थस्थल भ्रमणका क्रममा परिचय भएका पश्चिम बङ्गाल निवासी हरिश्चन्द्र साहुको नेतृत्वमा ६ जनाको टोलीले आफ्नै खर्चमा राहत सामग्री संकलन गरी दुईवटा पिकअप भ्यानमार्फत रौतहट ल्याएको थियो। पीडितका लागि आवश्यक खाद्यान्न तथा लत्ताकपडा बोकेर आएका उनीहरूको उद्देश्य जिल्ला प्रशासन कार्यालय गौरलाई राहत सामग्री हस्तान्तरण गरी विपद्मा परेका नागरिकसम्म पुर्‍याउनु रहेको नगर प्रमुख साहले बताएका छन्।
राहतका गाडीमा चामल, चिउरा, भुजा, बिस्कुट, नुनलगायत खाद्य सामग्रीका साथै ओढ्ने तथा लगाउने कपडा रहेको साहले उल्लेख गरेका छन्। तर, सीमा नाकामा पुगेपछि भने विभिन्न प्रशासनिक तथा भन्सारसम्बन्धी प्रक्रियाका कारण राहत सामग्री रोकिएको उनको भनाइ छ।
नगर प्रमुख साहका अनुसार खाद्य सामग्री क्वारेन्टिन जाँचको विषय उठाउँदै रोकिएको छ। सीमा नाकामा आवश्यक क्वारेन्टिन जाँचको सुविधा नभएको भन्दै राहत बोकेका गाडी भन्सारमै रोकिएको उनले बताएका छन्। त्यस्तै, विपद्का पीडितका लागि ल्याइएका लत्ताकपडामा समेत भन्सार प्रक्रिया तथा महसुलको विषय उठाइएको साहको दाबी छ।
राहत सामग्री सहज रूपमा नेपाल प्रवेश गराउन आफूले प्रमुख जिल्ला अधिकारी तथा भन्सार प्रमुखसँग प्रत्यक्ष समन्वयको प्रयास गरे पनि नीतिगत सहजीकरण हुन नसकेको नगर प्रमुख साहले बताएका छन्। जसका कारण दुईवटा राहतका गाडी घाम–पानी सहँदै सीमा क्षेत्रमा अलपत्र परेको उनले उल्लेख गरेका छन्।
“आफ्ना नागरिक महाविपत्ति र अभावको आगोमा जलिरहेका बेला पराई भूमिबाट श्रद्धा र सद्भाव बोकेर आएको मानवीय राहत सीमामै थन्किनु राज्यकै लागि लज्जास्पद र विडम्बनापूर्ण दृश्य हो,” साहले सामाजिक सञ्जालमा लेखेका छन्।
विपद्को समयमा कानुनी प्रक्रिया र प्रशासनिक व्यवस्था आवश्यक भए पनि मानवीय राहतलाई सहज बनाउने गरी राज्य संयन्त्रले विशेष सहजीकरण गर्नुपर्ने नगर प्रमुख साहको भनाइ छ। विपत्तिले देश, सीमा र कानुनी धाराहरू नचिन्ने भन्दै उनले यस्तो अवस्थामा राज्यले प्राथमिकतामा मानवीय संवेदनालाई राख्नुपर्ने बताएका छन्।
उनले निःस्वार्थ भावले राहत लिएर आएका सहयोगकर्तालाई सीमामै प्रशासनिक झन्झटमा पार्दा उनीहरूको मनोबल कमजोर हुनसक्ने चेतावनीसमेत दिएका छन्। संकटका बेला एकअर्कालाई सहयोग गर्ने मानवीय भावना निरुत्साहित भए भविष्यमा विपद्का बेला सहयोगको हात अघि बढाउनेहरू कम हुनसक्ने उनको भनाइ छ।
नगर प्रमुख साहले राहत सामग्री तत्काल पीडितसम्म पुर्‍याउन सम्बन्धित निकायलाई प्रक्रियागत गाँठो फुकाउन आग्रह गरेका छन्। सहयोगकर्ताको भावना र योगदानको सम्मान गर्दै राहतका दुवै गाडीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सहजीकरणका साथ नेपाल प्रवेश गराउन उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
विपद्का कारण प्रभावित नागरिकलाई तत्काल खाद्यान्न, कपडा तथा अन्य अत्यावश्यक सामग्री आवश्यक परेको अवस्थामा सीमा नाकामै राहत रोकिनुले सरकारी संयन्त्रबीचको समन्वय र विपद् व्यवस्थापनको कार्यशैलीमाथि समेत प्रश्न उठाएको छ। अब सम्बन्धित प्रशासनिक तथा भन्सार निकायले राहत सामग्रीको विषयमा तत्काल निर्णय लिएर पीडितसम्म राहत पुर्‍याउने वातावरण बनाउनुपर्ने देखिन्छ।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more