सुशासन र जनजीवन सुधार सरकारको प्राथमिकता : प्रधानमन्त्री वालेन्द्र शाह

१२ जेठ, काठमाडौ ।  प्रधानमन्त्री बालेन साह  ले नेपाली नागरिकको दैनिक जीवनस्तर वास्तविक रूपमा उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौं र नयाँदिल्लीस्थित युरोपिय युनियन तथा यसका सदस्य राष्ट्रका राजदूतहरू र काठमाडौंस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान समयको चुनौती र सरकारलाई सुम्पिएको जिम्मेवारीप्रति आफू पूर्ण रूपमा सचेत रहेको बताउनुभयो।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्रीले हालै सम्पन्न निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट जनादेश दिएको उल्लेख गर्दै सरकार परिवर्तन भए पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पार्नुभयो।
उहाँले “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन” भन्दै नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने बताउनुभयो। साथै लोकतान्त्रिक मूल्यमान्यता संरक्षण र राजनीतिक स्थिरताप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री शाहले सुशासन, समावेशी आर्थिक वृद्धि र जनताका लागि नयाँ अवसर सिर्जना सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभयो। विश्व बजारबाट लाभ लिन, विदेशी लगानी आकर्षित गर्न, प्रक्रियागत सहजता बढाउन तथा नवप्रवर्तन र दिगो विकासलाई प्रोत्साहन गर्न सरकार सक्रिय रहेको उहाँको भनाइ थियो।
विदेश नीतिबारे बोल्दै प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यावहारिक कूटनीतिक नीति अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पार्नुभयो। छिमेकी राष्ट्र, विकास साझेदार तथा मित्रराष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका आधारमा अघि बढाइने उहाँले बताउनुभयो।
उहाँले नेपालको विकास र समृद्धिमा निरन्तर सहयोग पुर्‍याउँदै आएका विकास साझेदार तथा मित्रराष्ट्रहरूप्रति आभार व्यक्त गर्दै व्यापार, लगानी, हरित ऊर्जा, जलवायु परिवर्तन र पर्यटनलगायत क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको उल्लेख गर्नुभयो।
विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री शाहले सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनमार्फत शान्ति स्थापना गर्नुपर्नेमा जोड दिनुभयो।
भेटका क्रममा युरोपियन युनियन तथा विभिन्न मुलुकका राजदूतहरूले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गर्दै नयाँ सरकारलाई बधाई दिएका थिए। साथै सुशासन, आर्थिक विकास र समृद्धिका क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी विस्तार गर्न आफूहरू तयार रहेको बताएका थिए।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more