भदौ ११, काठमाडौ ।सरकारले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल कम्पनीहरूलाई सात दिनभित्र सूचना प्रविधि मन्त्रालयमा अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ।
सो म्यादभित्र सूचीकृत नगर्ने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई क्रमशः निष्क्रिय गराइने चेतावनी सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद् बैठकपछि जानकारी दिएका हुन्।
मन्त्री गुरुङका अनुसार सरकारले यसअघि पनि पटक–पटक सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा कानुनी ढाँचाभित्र आएर काम गर्न आग्रह गर्दै आएको थियो। तर धेरै कम्पनीहरूले सरकारको आग्रह र चेतावनीलाई बेवास्ता गर्दै आएका कारण यसपटक कडा कदम चाल्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
“सात दिनभित्र सूचीकृत नभए कानुनी प्रक्रिया अनुसार सामाजिक सञ्जाल क्रमशः निष्क्रिय बनाइनेछ,” मन्त्री गुरुङले स्पष्ट पारे।
हाल नेपालमा प्रयोग भइरहेका फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, एक्स (ट्विटर) लगायतका प्लेटफर्महरूले अझै औपचारिक रूपमा नेपाल सरकारको नियमन प्रक्रियामा सूचीकृत नभएको मन्त्रालयले जनाएको छ।

















