१० साउन, काठमाडौ। — पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर चुनौतीको सामना गरिरहेको भन्दै त्यसलाई पुनः एकताबद्ध र पुनर्जीवित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले देशमा देखिएको निरङ्कुश प्रवृत्तिविरुद्ध फेरि एकपटक संघर्ष गर्न पनि कम्युनिस्ट शक्तिहरूलाई आह्वान गरेका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेकपा संस्थापक नेता नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवस कार्यक्रममा बोल्दै प्रचण्डले श्रद्धाञ्जली कार्यक्रमलाई केवल औपचारिकतामा सीमित नराखी राष्ट्रिय स्वाधीनताको रक्षा र कम्युनिस्ट आन्दोलनलाई पुनः संगठित गर्ने संकल्प गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।
उनले राष्ट्रिय स्वाधीनतामाथि चुनौती देखिएको र कम्युनिस्ट आन्दोलनले पनि ठूलो धक्का व्यहोरेकाले सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको बताए। आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्दै फेरि देशको नेतृत्व गर्न सक्ने अवस्थामा पुर्याउनुपर्ने समय आएको उनको भनाइ थियो।
प्रचण्डले संस्थापक नेता पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको योगदान स्मरण गर्दै कर्माचार्यले जीवनको अन्तिम समयसम्म आफ्नो विचार, सिद्धान्त र राजनीतिक निष्ठा नत्यागेको उल्लेख गरे। संस्थापक नेताहरूको त्याग, समर्पण र आदर्शबाट प्रेरणा लिएर वर्तमान पुस्ताले कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्नुपर्नेमा उनले जोड दिए।
उनले राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा निरङ्कुश प्रवृत्तिविरुद्ध एकताबद्ध संघर्षमार्फत कम्युनिस्ट आन्दोलनलाई पुनः सशक्त बनाउने संकल्प गर्नुपर्ने आवश्यकता पनि औँल्याए
















