प्रचण्डद्वारा सुनसरी गोलीकाण्डको स्वतन्त्र छानबिन र दोषीमाथि कारबाहीको माग

१२ साउन, काठमाडौ ।  — नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको गोलीकाण्डप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
सोमबार जारी प्रेस विज्ञप्तिमा प्रचण्डले दुई पक्षबीचको विवाद समाधान गर्नुपर्ने अवस्थामा सुरक्षाकर्मीले रातिको समयमा जथाभावी गोली चलाउँदा देवानगञ्ज गाउँपालिका–४ निवासी ओमप्रकाश मेहताको मृत्यु भएको तथा दर्जनभन्दा बढी व्यक्ति गम्भीर घाइते भएको उल्लेख गरेका छन्।
विज्ञप्तिमा मृतक ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
प्रचण्डले घटनास्थलमा प्रहरी प्रशासनले समन्वय, सतर्कता र जिम्मेवारीका साथ काम गर्नुपर्नेमा गोली चलाएर नागरिकको ज्यान लिनु गम्भीर सुरक्षा लापरबाही भएको आरोप लगाएका छन्। उनले नागरिकमाथि गोली चलाउनुपर्ने अवस्था नै नरहेको, नियम–कानुनविपरीत घुँडामाथि गोली प्रहार गरी निहत्था नागरिकको हत्या गरिएको भन्दै यसलाई गम्भीर अपराध, राज्य आतंक, मानवअधिकार उल्लङ्घन तथा गैरन्यायिक हत्याको उदाहरण भएको दाबी गरेका छन्।
विज्ञप्तिमा घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उल्लेख गर्दै दोषीमाथि कानुनी कारबाही, मृतकका परिवारलाई तत्काल राहत तथा उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरिएको छ।
यसैगरी, परिस्थिति थप जटिल बन्न नदिन, शान्ति–सुरक्षा सुदृढ बनाउन, वार्ता र संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न तथा सामाजिक सद्भाव कायम राख्न सरकार र सम्बन्धित सबै पक्षलाई गम्भीर ध्यान दिन आग्रह गरिएको छ।
प्रचण्डले स्थानीय समुदायलाई संयमित रहन, कुनै पनि प्रकारको थप हिंसा वा क्षति हुन नदिन तथा सामाजिक सद्भाव र एकता कायम राख्न अनुरोध गर्दै सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, मानवअधिकारकर्मी तथा सरोकारवाला पक्षलाई शान्तिपूर्ण समाधानका लागि सहयोग गर्न अपिल गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more