विद्यालय सञ्चालनमा देखिएका विकृति रोक्न जनकपुरधाम उपमहानगरसँग एन प्याब्सन सहित चार संगठनको माग

२४ भदौ, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाभित्र सञ्चालित संस्थागत विद्यालयको अनुमति, शुल्क निर्धारण, वर्गीकरण तथा अनुगमन प्रक्रियामा प्रभावकारी कार्यान्वयन गर्न चार शैक्षिक संस्थासम्बद्ध संगठनले उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन्।

प्याब्सन, एन–प्याब्सन, हिसान र एम–प्याब्सनले जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुखलाई पत्र पठाउँदै शैक्षिक क्षेत्रको नियमनमा देखिएका समस्या तत्काल समाधान गर्न माग गरेका हुन्।

उनीहरूले अनुमति प्राप्त गरी अघिल्लो कक्षा सञ्चालनका लागि अनुमति माग गरेका विद्यालयलाई चैत मसान्तभित्र अनुमति प्रदान गरी त्यसको सार्वजनिक जानकारी गराउनुपर्ने माग गरेका छन्। त्यस्तै, स्थानीय विषय लागू भए पनि हालसम्म पाठ्यपुस्तक उपलब्ध हुन नसकेको विषयमा पनि आवश्यक व्यवस्था गर्न आग्रह गरिएको छ।

पत्रमा संस्थागत विद्यालयको शुल्क निर्धारण भए पनि कार्यान्वयन हुन नसकेको, विद्यालयहरूको वर्गीकरण गर्नुपर्ने भए पनि हालसम्म हुन नसकेको उल्लेख गर्दै यी प्रक्रिया तत्काल अघि बढाउन माग गरिएको छ।

त्यसैगरी, अनुमति प्राप्त विद्यालयमध्ये केहीले स्वीकृत अनुमति भन्दा माथिका कक्षा सञ्चालन गरिरहेको अनुगमनबाट देखिए पनि हालसम्म कारबाही हुन नसकेको भन्दै त्यस्ता विद्यालयमाथि आवश्यक कारबाही गर्न आग्रह गरिएको छ।

चारवटै संगठनले दर्ता नै नगरी सञ्चालनमा रहेका विद्यालयलाई तत्काल बन्द गर्नुपर्ने माग गरेका छन्। अनुमति प्राप्त गरे पनि सञ्चालनमा नरहेका विद्यालयको यकिन गरी आवश्यक प्रक्रिया पूरा गरेर अनुमति खारेज गर्नुपर्ने पनि उनीहरूको माग छ।

पत्रमा जनकपुरधामलाई शैक्षिक हबका रूपमा स्थापित शहर भन्दै यहाँको शैक्षिक वातावरण सुदृढ र सबल बनाउन स्थानीय सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको उल्लेख गरिएको छ। नगरप्रमुखको नेतृत्वमा यस क्षेत्रमा केही सकारात्मक पहल तथा कदम चालिए पनि ती विषय सञ्चारमाध्यममा सीमित प्रचारबाजीमा मात्र रहेको भन्दै कार्यान्वयनमा जोड दिन संगठनहरूले आग्रह गरेका छन्।

प्याब्सन, एन–प्याब्सन, हिसान र एम–प्याब्सनको हस्ताक्षर रहेको उक्त ध्यानाकर्षण पत्रमा उल्लेखित विषयमा यथाशीघ्र कार्यान्वयन प्रक्रिया अघि बढाउन उपमहानगरपालिकासँग आग्रह गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more