सुनसरी घटनाको प्रभाव देशभर, विराटनगरदेखि काठमाडौंसम्म विरोध प्रदर्शन

१२ साउन , सुनसरी — सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जबाट सुरु भएको हिन्दु र मुस्लिम समुदायबीचको तनाव मंगलबार थप चर्किएको छ। सोमबारको तुलनामा अवस्था थप संवेदनशील बनेपछि इटहरीको पकलीदेखि कोशी ब्यारेजसम्म पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ भने सदरमुकाम इनरुवा पूर्ण रूपमा बन्द भएको छ।
जिल्लाका विभिन्न स्थानमा हिन्दु समुदायका प्रदर्शनकारी हिन्दुबहुल क्षेत्रमा र मुस्लिम समुदायका प्रदर्शनकारी मुस्लिमबहुल क्षेत्रमा सडकमा उत्रिएका छन्। आन्दोलन कुनै एक नेतृत्वको नियन्त्रणमा नभई विभिन्न स्थानमा स्वतःस्फूर्त रूपमा फैलिएकाले सुरक्षा निकायलाई अवस्था नियन्त्रणमा लिन थप चुनौती भएको बताइएको छ।
स्थिति नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको व्यापक परिचालन गरिएको छ। यद्यपि, जिल्लाका अधिकांश क्षेत्रमा तनाव कायमै रहेको जनाइएको छ।
सुनसरीको घटनाको विरोधमा देशका अन्य स्थानमा पनि प्रदर्शन सुरु भएको छ। विराटनगरमा बजार बन्द गराउँदै हिन्दु युवाले विरोध प्रदर्शन गरेका छन्। त्यसैगरी सिरहा, वीरगञ्ज, काठमाडौं र जनकपुरधाममा समेत विभिन्न समूहले प्रदर्शन गरिरहेका छन्।
यसैबीच, जिल्लाका केही स्थानमा दुवै समुदायका उग्र समूहले एकअर्काका घर तथा धार्मिकस्थलमाथि आक्रमण गरेको भन्ने जानकारी प्राप्त भए पनि सम्बन्धित सुरक्षा निकायले त्यसको आधिकारिक पुष्टि वा विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सबै पक्षलाई संयम अपनाउन, अफवाहमा विश्वास नगर्न तथा वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्। उनले शान्ति–सुरक्षा कायम गर्न प्रशासनले सबै सरोकारवालासँग समन्वय गर्दै आवश्यक पहल गरिरहेको बताए।
पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि लामो दूरीका सवारीसाधन र यात्रुहरू समेत प्रभावित भएका छन्। प्रशासनले नागरिकलाई अपुष्ट सूचना सामाजिक सञ्जालमा साझा नगर्न, कानुनको पालना गर्न तथा शान्ति कायम गर्न सहयोग गर्न पुनः आग्रह गरेको छ।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more