जेनजी आन्दोलनका मुद्दाबाट एक इन्च पनि पछि हट्दैनौँ : रवि लामिछाने

२३ भदौ, काठमाडौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार, कुशासन र दलीय भागबन्डाविरुद्धका मुद्दाबाट आफूहरू एक इन्च पनि पछि नहट्ने बताएका छन्।

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै लामिछानेले आन्दोलनका क्रममा घाइते, अङ्गभङ्ग तथा मानसिक र शारीरिक पीडा भोगेकाहरूको उपचार, पुनःस्थापना र उचित हेरचाह गर्ने जिम्मेवारी राज्यको भएको बताएका हुन्।

उनले भदौ २३ र २४ गते भएका घटना फेरि कहिल्यै दोहोरिन नहुने उल्लेख गर्दै परिवर्तनका नाममा अब कुनै पनि आमाको काख रित्तिन नहुने धारणा व्यक्त गरेका छन्।

“एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका हामीलाई, परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो,” लामिछानेले भनेका छन्, “भदौ २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्। परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्तियोस्।”

लामिछानेले नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजका लागि ज्यान गुमाएका नागरिकको बलिदानलाई राष्ट्रले सधैँ स्मरण गर्नुपर्ने बताएका छन्।

उनका अनुसार एक वर्षअघि भएको आन्दोलन कुनै राजनीतिक दलको आह्वानमा नभई युवा पुस्ताबाट स्वतःस्फूर्त रूपमा उठेको आवाज थियो। शान्तिपूर्ण रूपमा सडकमा उत्रिएको युवापुस्ताको आन्दोलन परम्परागत राजनीतिक शैलीप्रतिको स्पष्ट अस्वीकृति भएको उनको भनाइ छ।

“राजनीतिमा खासै चासो राख्दैन भनिएको युवा पुस्ता, जब शान्तिपूर्ण रूपमा सडकमा उत्रियो, त्यो परम्परागत राजनीतिक शैलीप्रतिको स्पष्ट ‘अस्वीकृति पत्र’ थियो,” उनले उल्लेख गरेका छन्।

जेनजी आन्दोलनले डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको, स्वाभिमानी र देशभित्रै आफ्नो भविष्य खोज्ने पुस्ताको भावना अभिव्यक्त गरेको लामिछानेले बताएका छन्। यस्तो पुस्ताले अब कुशासन स्वीकार नगर्ने सन्देश आन्दोलनले दिएको उनको दाबी छ।

आन्दोलनका क्रममा युवाहरूले उठाएका प्रश्नको जवाफ दिने जिम्मेवारी अहिले आफूहरूमाथि आएको उनले बताएका छन्। साथै रास्वपा तथा सरकारको काममाथि युवा, नागरिक समाज र आम नागरिकबाट निरन्तर रचनात्मक खबरदारी आवश्यक रहेकोमा उनले जोड दिएका छन्।

लामिछानेले सरकारको कार्यसम्पादनमाथि कठोर समीक्षा भइरहनुपर्ने बताउँदै नागरिक असन्तुष्टिलाई निराशामा परिणत हुन नदिई त्यसलाई राष्ट्र निर्माणको शक्तिमा बदल्नुपर्ने धारणा राखेका छन्।

“आम मनोविज्ञानमा निराशाको भाष्य भने स्थापित हुन नदिऔँ। नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने यस ऐतिहासिक यात्रामा हामी सबै एकताबद्ध हुनैपर्छ,” उनले भनेका छन्।

उनको वक्तव्यमा जेनजी आन्दोलनका सहिद तथा घाइतेप्रति राज्यको जिम्मेवारी, नागरिक अधिकारको संरक्षण तथा भ्रष्टाचार र कुशासनविरुद्धको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्‍याइएको छ।

  • सम्बन्धित समाचारहरु

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more

    नेपालमै विश्वस्तरीय क्यान्सर उपचारको प्रयास, डा. बिजेश राज घिमिरे बिरामीको विश्वासको पात्र

    Read more