२५ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि बुधबार मन्त्रालयबाट भावुक हुँदै बाहिरिएकी छन्।
इन्धन तथा एलपी ग्यासको आपूर्ति सहज बनाउन नसकेको तथा उद्योगीहरूलाई लक्षित गर्दै दिएको ‘पाता कस्ने’ अभिव्यक्तिका कारण विवादमा परेकी यादवले बुधबार मन्त्री पदबाट राजीनामा दिएकी हुन्।
राजीनामापछि मन्त्रालयबाट बाहिरिने क्रममा यादव निकै भावुक देखिइन्। मन्त्रालय परिसरमा रहेका सञ्चारकर्मीका अनुसार उनी आँखाभरि आँसु लिएर बाहिरिएकी थिइन्। सञ्चारकर्मीहरूले प्रतिक्रिया लिन खोजे पनि उनले कुनै प्रश्नको जवाफ दिइनन् र त्यहाँबाट प्रस्थान गरिन्।
यसअघि तत्कालीन श्रममन्त्री दीपक साहको राजीनामापछि भएको मन्त्रिपरिषद् हेरफेरका क्रममा यादव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेकी थिइन्। छोटो समयमै मन्त्रालयको नेतृत्व सम्हालेकी यादव पछिल्लो समय आपूर्ति व्यवस्थापन तथा आफ्ना अभिव्यक्तिका कारण विवादमा परेकी थिइन्।
अन्ततः बढ्दो विवाद र दबाबबीच उनले मन्त्री पदबाट राजीनामा दिएकी हुन्।
















