प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब मौज्दात

२४ भदौ , काठमाडौ गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारका लागि सरकारले आह्वान गरेको प्रधानमन्त्री राहत कोषमा हाल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ।

कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ मौज्दात रहेको जनाइएको छ।

यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको छ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) लाई निकासा भइसकेको छ।

बाढीपछि सरकारले प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो। सरकारको आह्वानपछि स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति, संस्था तथा निकायले सहयोगस्वरूप रकम उपलब्ध गराएका थिए। उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुँदै आएको हो।

सरकारले कोषमा जम्मा भएको रकमलाई बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना र आवश्यक पूर्वाधार निर्माणमा उपयोग गर्ने जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    सिरहामा मन्त्री पोखरेलविरुद्ध नाराबाजी, सम्बोधन बीचमै छाडेर फर्किए

    Read more

    जापानमा हुने एसियाली खेलकुदका लागि नेपालबाट २११ सदस्यीय टोली जाने

    Read more