१२ साउन , काठमाडौ । — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा जारी विज्ञप्तिमा घटनामा एक नेपाली युवाको मृत्यु भएको तथा अन्य केही व्यक्ति घाइते भएकोप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क, प्रभावकारी र गुणस्तरीय उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ।
राप्रपाले घटनाको सत्यतथ्य, निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी कानुनविपरीत हिंसा, हत्या, आगजनी वा सामाजिक सद्भाव बिथोल्ने जोसुकै व्यक्ति वा समूह भए पनि कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने धारणा राखेको छ। दण्डहीनताको संस्कृतिले यस्ता घटना बढाएको उल्लेख गर्दै दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने पार्टीको भनाइ छ।
विज्ञप्तिमा तराई–मधेशका विभिन्न क्षेत्रमा चाडपर्व तथा धार्मिक अवसरका बेला पटक–पटक तनाव, हिंसा र साम्प्रदायिक विवाद हुने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। हिन्दु समुदाय लक्षित घटनाहरूलाई राप्रपाले सुरुदेखि नै गम्भीर रूपमा हेर्दै आएको उल्लेख गर्दै यस्ता घटनाको कारण, पृष्ठभूमि, सुरक्षा व्यवस्थाको कमजोरी र प्रशासनिक उत्तरदायित्वबारे गहिरो अध्ययन गरी दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरिएको छ।
राप्रपाले यस्ता घटना दोहोरिन नदिन सर्वपक्षीय समिति गठन गरी तत्काल संवादको थालनी गर्न तथा सबै नागरिकलाई संविधानले सुनिश्चित गरेको धर्म, संस्कृति र परम्परा स्वतन्त्र रूपमा अभ्यास गर्न सक्ने वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ।
पार्टीले हिंसा, अराजकता र साम्प्रदायिक द्वेषको राजनीति स्वीकार्य नहुने स्पष्ट पार्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव, विधिको शासन र नागरिक सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग पुनः माग गरेको छ। साथै सम्पूर्ण नागरिकलाई संयम अपनाउँदै सामाजिक एकता र सद्भाव कायम राख्न अपिल गरेको छ।


















