११ साउन , काठमाडौ । द — नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गर्न सरकारसँग माग गरेको छ।
कांग्रेस सभापति गगनकुमार थापाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
विज्ञप्तिमा सरकारले नागरिकको ज्यान जाने अवस्था किन सिर्जना भयो भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने उल्लेख गर्दै संवेदनशील परिस्थितिमा राज्य संयमित, सतर्क र जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ। गोली चलाउनुपर्ने अवस्था आउनु सुरक्षा व्यवस्थापनको गम्भीर कमजोरी भएको कांग्रेसको ठहर छ।
कांग्रेसले घटनाको तत्काल निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, घाइतेको उपचार र मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन तथा प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम गर्न सरकारसँग आग्रह गरेको छ।
साथै, पार्टीले सबै पक्षलाई अफवाह र उत्तेजनाबाट टाढा रहँदै सामाजिक सद्भाव, शान्ति र भाइचारा कायम राख्न संयम अपनाउन अपिल गरेको छ।

















