रोहिङ्ग्यासहित विदेशी शरणार्थीको अवैध प्रवेश बढ्दो, सीमा सुरक्षामा चुनौती : प्रहरी

८ साउन , काठमाडौ ।  प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले खुला सीमा, अवैध शरणार्थी प्रवेश र कानुनी क्षेत्राधिकारको अभाव नेपाल–भारत सीमावर्ती क्षेत्रको सुरक्षाका प्रमुख चुनौती बनेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले सीमा सुरक्षा र अन्तरदेशीय अपराध नियन्त्रणका क्रममा नेपाल प्रहरीले भोगिरहेका चुनौतीबारे जानकारी गराएका हुन्।
आईजीपी कार्कीका अनुसार पछिल्लो समय भारत हुँदै रोहिङ्ग्या, पाकिस्तानी र सोमालियाली नागरिकहरू अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढ्दो छ। उनीहरूले नेपालका विभिन्न स्थानमा समूह बनाएर बसोबास गर्ने प्रयास गर्ने गरेको र केही व्यक्तिहरू लागुऔषध कारोबारलगायतका आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको उनले बताए।
उनले यस्ता व्यक्तिहरूलाई पहिचान गरी नियन्त्रणमा लिई सम्बन्धित निकायलाई बुझाउने कार्य निरन्तर भइरहेको जानकारी दिए।
बैठकमा उनले दक्षिणी सीमाबाट मल खरिद गर्ने क्रममा तस्करीको अभियोगमा भारतीय प्रहरीको नियन्त्रणमा रहेका केही नेपाली नागरिकको विषयमा पनि जानकारी गराए। उक्त विषयमा नेपाल र भारतबीच ‘पुलिस–टु–पुलिस’ समन्वय तथा कूटनीतिक पहलमार्फत कानुनी प्रक्रिया अघि बढाइएको र उनीहरू छिट्टै रिहा हुने अपेक्षा गरिएको उनले बताए।
आईजीपी कार्कीले सीमापार हुने अपराधको अनुसन्धानमा कानुनी क्षेत्राधिकारको अभावले समेत समस्या सिर्जना गरिरहेको बताए। चोरीलगायतका केही मुद्दामा नेपालको कानुनले बाह्य क्षेत्राधिकार नदिँदा अनुसन्धान र कारबाही प्रभावकारी रूपमा अघि बढाउन कठिनाइ हुने उनको भनाइ थियो।
उनका अनुसार सीमा क्षेत्रमा अवैध हातहतियार ओसारपसार, लागुऔषध तस्करी, अन्तरदेशीय संगठित अपराध, साइबर ठगी, अनलाइन स्क्यामिङ, मानव बेचबिखन, अवैध वैदेशिक रोजगारी, बैंकिङ फ्रड तथा अनलाइन सट्टेबाजीका गतिविधि बढ्दो चुनौतीका रूपमा देखिएका छन्।
विशेषगरी वैदेशिक रोजगारीको प्रलोभन देखाएर हुने ठगी र ओटीपीमार्फत हुने बैंकिङ फ्रडका कारण सर्वसाधारणले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उनले बताए।
यी चुनौतीको सामना गर्न नेपाल प्रहरीले नियमित गस्ती, निगरानी, संयुक्त सुरक्षा अभियान सञ्चालन गर्नुका साथै ड्रोन, स्क्यानर तथा तालिमप्राप्त कुकुर (के–९) जस्ता आधुनिक प्रविधिको प्रयोग गरी सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै आएको आईजीपी कार्कीले जानकारी दिए।

  • सम्बन्धित समाचारहरु

    प्रचण्डद्वारा सुनसरी गोलीकाण्डको स्वतन्त्र छानबिन र दोषीमाथि कारबाहीको माग

    Read more

    देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग, संयम अपनाउन आग्रह

    Read more