८ साउन , जनकपुरधाम। — धनुषाको मिथिला नगरपालिका–६ स्थित बसी खोलाछेउ लक्ष्मीनिवास जाने भित्री सडकखण्डबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शुक्रबार दिउँसो करिब २ः३० बजे भारतबाट नेपालतर्फ लागुऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ढल्केवर र लागुऔषध नियन्त्रण ब्युरो बर्दिवास, महोत्तरीको संयुक्त टोली परिचालन गरिएको थियो।
प्रहरी निरीक्षक लक्ष्मण के.सी.को नेतृत्वमा खटिएको टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका दुई जनालाई रोक्न खोज्दा उनीहरू प्रहरीलाई देखेर भाग्न थालेका थिए। त्यस क्रममा लागुऔषध नियन्त्रण ब्युरो बर्दिवासका प्रहरी सहायक निरीक्षक प्रकाशराज थापाले टाइप–५४ (ठूलो चाइनिज पेस्तोल) बाट एक राउन्ड हवाई फायर गरेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको हरलाखी थाना–५ निवासी २६ वर्षीय सन्तोष कुमार महत्तो र बासोपट्टी थाना–२ निवासी ४५ वर्षीय मिथलेस साहु रहेका छन्।
प्रहरीका अनुसार सन्तोष कुमार महत्तोको पाइन्टको गोजी खानतलासी गर्दा प्लास्टिकमा प्याक गरिएको खैरो हिरोइनजस्तो देखिने गिलो पदार्थ बरामद भएको हो। बरामद पदार्थको प्लास्टिकसहित तौल १०३ दशमलव २२० ग्राम र प्लास्टिकबाहेकको शुद्ध तौल ९५ दशमलव ५९० ग्राम रहेको जनाइएको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय ढल्केवरमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभएको छ।

















