सुनसरीको देवानगञ्जमा दुई समुदायबीच झडप, गोली लागेर एक जनाको मृत्यु, १० घाइते

११ साउन,सुनसरी। — सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समुदायबीच भएको झडप हिंसात्मक बनेपछि गोली चल्दा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। घटनामा एक प्रहरी निरीक्षक पनि घाइते भएका छन्।
प्राप्त प्रारम्भिक विवरणअनुसार गोली लागेर देवानगञ्ज–३ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो। थप दुई जना मेहताको अवस्था गम्भीर रहेको जनाइएको छ। अन्य सात जना घाइतेमध्ये पाँच जना मेहता र दुई जना यादव रहेको तथा उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ।
स्थानीयका अनुसार गत महरम पर्वदेखि नै उक्त क्षेत्रमा झण्डा राख्ने विषयलाई लिएर विवाद हुँदै आएको थियो। मुस्लिम समुदायले उक्त स्थानलाई बीपी चोक र हिन्दु समुदायले श्रीराम चोक भनेर चिनाउँदै आएका थिए।
त्यसैबीच श्रावण महिनाको बोलबम यात्राका लागि आइतबार साँझदेखि हिन्दु समुदायले झण्डा फहराउने र डिजे बजाउने क्रममा दुई पक्षबीच सामान्य भनाभन सुरु भएको थियो। साँझको विवाद राति बढ्दै गएपछि झडपमा परिणत भएको स्थानीयको भनाइ छ।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि अवस्था थप तनावपूर्ण बनेको थियो। झडपका क्रममा गोली चलेपछि १० जना घाइते भएका हुन्। घटनामा खटिएका एक प्रहरी निरीक्षक पनि घाइते भएका छन्।
स्थानीयवासीले साँझ करिब ७ बजेदेखि राति ११/१२ बजेसम्म जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको नेतृत्वले समयमै प्रभावकारी हस्तक्षेप नगरेको आरोप लगाएका छन्। यद्यपि यस विषयमा जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीले आधिकारिक प्रतिक्रिया सार्वजनिक गरिसकेका छैनन्।
घटनापछि देवानगञ्ज क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। गोली कसले चलायो, कुन परिस्थितिमा चल्यो तथा घटनाको वास्तविक कारणबारे आधिकारिक पुष्टि हुन बाँकी छ।

  • सम्बन्धित समाचारहरु

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more

    सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

    Read more