एमबीएस प्रश्नपत्र चुहावटका मुख्य आरोपित २४ घण्टामै पक्राउ, दोषी नउम्किने : शिक्षामन्त्री

१० साउन, काठमाडौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणलाई गम्भीर आपराधिक घटना भएको भन्दै दोषीमाथि कानुनबमोजिम कडा कारबाही गरिने बताएका छन्।
मन्त्री पोखरेलले परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र ह्वाट्सएपमार्फत सार्वजनिक भएको जानकारी प्राप्त हुनासाथ सम्बन्धित निकायसँग समन्वय गरी तत्काल अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।
उनका अनुसार घटनाबारे जानकारी पाएलगत्तै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरी अनुसन्धान तीव्र बनाउन निर्देशन दिइएको थियो। त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्युरोलाई समेत परिचालन गरी अनुसन्धान अगाडि बढाइएको उनले बताए।
मन्त्री पोखरेलले डिजिटल प्रमाण तथा ह्वाट्सएप समूहहरूको विश्लेषणका आधारमा २४ घण्टाभित्र घटनामा संलग्न मुख्य आरोपितहरूलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको दाबी गरे। अनुसन्धान अझै जारी रहेकाले यस प्रकरणमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याइने उनको भनाइ छ।
उनले प्रश्नपत्र चुहावटलाई केही व्यक्तिको गल्तीमा सीमित नराखी परीक्षा प्रणालीभित्र रहेका सम्भावित कमजोरीहरूको समीक्षा गर्ने अवसरका रूपमा समेत लिइएको बताए। प्रश्नपत्रको सुरक्षा, परीक्षा सञ्चालन प्रक्रिया तथा आन्तरिक प्रणालीका कमजोरीबारे अध्ययन गर्न आवश्यक पहल थालिएको उनले उल्लेख गरे।
यसैबीच, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको डिन कार्यालयले प्रा. डा. अच्युत वाग्लेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले प्रश्नपत्र बाहिरिनुको कारण, सुरक्षा प्रणालीका कमजोरी तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायबारे अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ।
मन्त्री पोखरेलले परीक्षा प्रणालीप्रतिको जनविश्वास कायम राख्न आवश्यक कानुनी तथा संस्थागत सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै विगतमा यस्ता घटनामा दोषी उम्किने प्रवृत्ति रहे पनि अब त्यसको अन्त्य गरिने विश्वास व्यक्त गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै राप्रपाको सरकारलाई ध्यानाकर्षण

    Read more

    सुनसरी घटनाको प्रभाव देशभर, विराटनगरदेखि काठमाडौंसम्म विरोध प्रदर्शन

    Read more