९ फागुन, सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ का मतदाताले अब सांसद खोज्दै धाउन नपर्ने बताएका छन्। घरदैलो कार्यक्रमअन्तर्गत भगवतीपुर र सिमरामा मतदातासँग भेटघाट गर्दै उनले आफ्नो निर्वाचन क्षेत्रमा स्थायी सम्पर्क कार्यालय स्थापना गर्ने र समर्पित टिममार्फत निरन्तर सेवा दिने प्रतिबद्धता व्यक्त गरे।
चुनावमा मत माग्न आउने तर पछि नफर्किने सांसदप्रति स्थानीयले गुनासो गरेपछि थापाले आफू नियमित रूपमा क्षेत्रमै रहने बताए। “अब तपाईंहरू सांसद खोज्दै हिँड्नुपर्दैन, म आफैं आउँछु। सर्लाही अब मेरो निर्वाचन क्षेत्र हो, यहाँ मेरो सम्पर्क कार्यालय रहन्छ,” उनले भने। कुनै समस्या परे युवकले आफ्नै बाबुलाई फोन गरेझैँ ‘गगन दाइ’ भनेर सहजै सम्पर्क गर्न सकिने वातावरण बनाउने उनको भनाइ थियो।
थापाले नेपालको नेतृत्व गर्न पहाड र काठमाडौं बुझेर मात्र नहुने उल्लेख गर्दै मधेसको भावना र आवश्यकता बुझ्न आफू सर्लाही आएको बताए। मधेसलाई केन्द्रमा राखेर विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने उनको भनाइ थियो।
कांग्रेस नेतृत्वमा सरकार बनेपछि देशका जुनसुकै अस्पतालमा उपचार गर्दा नागरिकले खल्तीबाट एक रुपैयाँ पनि तिर्नु नपर्ने व्यवस्था गरिने उनले दाबी गरे। किसानका समस्या समाधानमा आफू गम्भीर रहेको उल्लेख गर्दै उनले उखु किसानका विषयमा प्रधानमन्त्रीसँग छलफल गरिसकेको र त्यसको जिम्मेवारी अब आफ्नो काँधमा रहेको बताए।
सर्लाही–४ लाई मधेसकै नमुना निर्वाचन क्षेत्र बनाउने लक्ष्यसहित क्षेत्रमै इन्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय भइसकेको तथा किड्नी उपचार केन्द्र स्थापना गर्ने योजना अघि बढेको जानकारी उनले दिए। निर्वाचन आचारसंहिताका कारण सबै योजना खुलाउन नसक्ने भन्दै थापाले मतदातासँग काम गर्ने अवसर मागे।
“२१ गतेसम्म मेरो लागि हिँडिदिनुस्, त्यसपछि तपाईंहरूको जिम्मा म लिन्छु,” उनले भने। साथै उनले घरघरमा गएर विकासका लागि आफूलाई समर्थन गर्न आग्रह गर्दै अन्य दलप्रति आलोचनात्मक टिप्पणी समेत गरे।

















